पालिका चुनाव : ११ उपमहानगरमा कहाँ कस्तो स्थिति ?

 बैशाख ८, २०७९ बिहिबार ७:२५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

पालिका चुनाव नजिकिंदै गर्दा महानगर र उपमहानगरपालिकामा दलहरुको ध्यान बढी केन्द्रित छ । सुनसरी जिल्लाको इटहरी र धरान, धनुषा जिल्लाको जनकपुर, मकवानपुर जिल्लाको हेटौंडा, बारा जिल्लाको कलैया र जितपुर–सिमरा, रुपन्देही जिल्लाको बुटवल, दाङ जिल्लाको तुलसीपुर र घोराही, बाँके जिल्लाको नेपालगञ्ज र कैलाली जिल्लाको धनगढी गरी ११ उपमहानगर महानगरपछि चर्चामा छन् । उम्मेदवारी दाबी पार्टी गर्दै टोल/टोलमा राजनीतिक गतिविधि देखिन थालेका छन् । टिकटका लागि पार्टी तथा नेताको घर/घर धाउनेको भिड बढेको छ । 

२०७४ सालको राजनीतिक परिवेश भन्दा भिन्न यसपटक कांग्रेस, माओवादी, एकीकृत समाजवादी, संघीय समाजवादी तथा राष्ट्रिय जनमोर्चा सहितको सत्तारुढ गठवन्धन तथा प्रमुख प्रतिपक्षी एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । 

१. इटहरीमा पुरानैको चर्चा

२०७४ सालको निर्वाचनमा इटहरीमा एमालेका द्वारिकलाल चौधरीले मेयर तथा उपमेयरमा लक्ष्मीकुमारी गौतमले विजय हासिल गर्नु भएको थियो । मेयर तथा उपमेयर दुवैमा निकटतम प्रतिद्वन्द्वी भने कांग्रेसका रोहितप्रसाद प्रसाई तथा बिमला सिवाकोटी हुनुहुन्थ्यो । 

हुन त राप्रपाका प्रभावशाली नेता रोहितकुमार कार्की तथा अघिल्लो चुनावमा माओवादीबाट उपमेयरका उम्मेदवार बनेका भीमप्रसाद सुवेदी, माओवादीबाट संघीय सांसदका उम्मेदवार बनेका हिमाल सुवेदी एमाले प्रवेश गरेपनि परिस्थिति बदलिएका कारण एमालेलाई आफ्नो पुरानो साखः जोगाउन सजिलो छैन । 

इटहरीमा सत्ता गठबन्धनका तर्फबाट कांग्रसले मेयर तथा एकीकृत समाजवादीले उपमेयरमा लड्ने टुंगो लागेको छ ।

एमालेको नगर कमिटीले हालका मेयर द्वारिकलाल चौधरीसहित ६ जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएका अन्य नाममा उपमेयर लक्ष्मी गौतम, नगर कमिटी अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईं, पूर्व नगर अध्यक्ष रेवतीप्रसाद घिमिरे र जिल्ला सदस्य बन्नुलाल चौधरी छन् । एमालेले उपमेयरमा पनि नौजनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसबाट पार्टीको नगर सभापति रहेका हेमकर्ण पौडेलले मुख्य दाबेदारका रुपमा हुनुहुन्छ । अन्यमा भने यस अघि मेयरमा पराजित भएका रोहित प्रसाई र व्यवसायी भीम पौडेलले पनि आफ्नो दाबेदारी पेश गरिरहनु भएको छ । 

२. धरानमा फेरिएको स्थिति

यसअघि धरानमा एमालेले मेयर–उपमेयर दुवै पदमा विजय हासिल गरेको थियो । मेयरमा तारा सुब्बा तथा उपमेयरमा मञ्जु भण्डारीले कांग्रेसका तिलक राई तथा कांग्रेसकै श्यामा रेग्मीलाई पराजित गरेका हुन् । 

मेयर तारा सुब्बाको ०७५ सालमा निधन भएपछि धरानमा मेयरका लागि उपचुनाव भएको थियो । उपचुनावमा भने कांग्रेसका तिलक राई विजयी हुनुभयो । 

अघिल्लो चुनावमा  एमाले र माओवादीको मत एकै ठाउँमा हुँदा पनि कांग्रेसले जितेको थियो । अहिले एमाले विभाजित भएको अवस्थामा कांग्रेसले आफ्नो जित अझ सहज देखेको छ । त्यस अर्थमा पनि कांग्रेसले धरानमा आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो । 

कांग्रेसको दाबेदारी अनुरुप नै सत्तासीन दलका तर्फबाट मेयरको टिकट पाएको छ भने उपमेयरको टिकट भने माओवादीले प्राप्त गरेको छ । 

हालका मेयर तिलक राई, किशोर राई, उमेश थापालगायतले कांग्रेसबाट मेयरमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । एमालेबाट भने हालकी उपमेयर उपमेयर मञ्जु भण्डारी, पूर्वमेयर मनोज मेयाङ्बो, उपचुनावमा मेयरका उम्मेदवार प्रकाश राई, मुरारी सुवेदी, विजय राई, मोतीराज सुनुवार लगायतको दाबी छ । 

३. हेटौंडामा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा  

अघिल्लो चुनावमा हेटौंडामा एमालेले मेयर तथा उपमेयर दुवै पदमा जितेको थियो । मेयरमा हरिबहादुर महतले कांग्रेसका आनन्दराम पराजुली हराउनु भएको थियो भने उपमेयरमा मीनाकुमारी लामाले माओवादी केन्द्रका बलराम बललाई हराउनु भएको थियो ।

एमालेको वर्चश्व रहेको हेटौंडामा प्रतिस्पर्धीको रुपमा कांग्रस नै अगाडि देखिन्छ । अहिले एमाले विभाजन भएको समयमा हेटौंडामा राम्रो उपस्थिति रहेको कमल थापाको राप्रपा नेपालबीच समझदारी हुँदा परिणाम एमालेका पक्षमा जाने देखिन्छ । तर, सत्ता गठबन्धनबीच एकआपसमा उम्मेदवारीको कुरा मिलेकोले यहाँ पनि एमाले र सत्तागठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । 

गएको चुनावमा उपमेयर उम्मेदवार माओवादी नेता बलराम बल र माओवादीका वडा नम्बर १४ का अध्यक्ष दीपक खड्का एमालेमा प्रवेश गरेका छन् भने उपमेयर मीनाकुमारी लामा तथा वडा नं १३ का अध्यक्ष मनोजकुमार वाइबा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसले पनि चुनाव रोचक मोडमा जाने देखिन्छ । 

मेयरमा एमालेबाट पाँचजनाको दाबी रहेको छ । जसमा हालका मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल र पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ छन् । 

सत्ता गठबन्धनले हेटौंडामा मेयरमा एकीकृत समाजवादी तथा उपमेयरमा कांग्रेसलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

४. जनकपुरमा मधेश केन्द्रीत दलबीच नै मुख्य प्रतिस्पर्धा 

गएको २०७४ सालको चुनावमा जनकपुरमा महन्थ ठाकुरले नेतृत्व गरेको राजपाबाट लाल किसोर साहले मेयरमा चुनाव जित्नु भएको हो । उपमेयरमा पनि राजपाकै रिताकुमारी मिश्रले जित्नु भएको हो । दुवै पदका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोजकुमार साह तथा निलमदेवी कर्ण हुनुहुन्थ्यो । 

राजपा र सजपाबीच एकीकरण भएर बनेको जनता समाज वादी पार्टी (जसपा) बाट पनि अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ । हालका मेयर जसपामा भए पनि  परिस्थिति जसपाले सोचे जस्तो सहज छैन । 

गठबन्धनले मेयरमा जसपा तथा उपमेयरमा कांग्रेसको उम्मेदवारी हुने टुंगो लगाएको छ । एमाले र लोसपाबीच पनि तालमेलको कुरा चलिरहेकाले यहाँ गठबन्धनका लागि चुनाव जित्न त्यति सजिलो छैन । 

मेयरमा जसपाबाट हालका मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह र युवा नेता बजरंग यादवले आफूलाई मेयरको उम्मेदवारको रुपमा अगाडि बढाइरहनु भएको छ । 

लोसपाबाट नगर अध्यक्ष मनोज चौधरी, प्रदेशसभा सदस्य परमेश्वर साह, वडाध्यक्ष जानकीराम साह, अमर पजियार र संजय चौधरीको नाम सिफारिस भएको छ । एमालेबाट हिकम राइन, जनकपुर नगरका सभापति सुरेन्द्र भण्डारी, जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह हिरा, कामेश्वर महता, उमेश चौधरी लगायतले आफ्नो दाबेदारी प्रस्तुत गरिरहनु भएको छ । 

५. कलैयामा बहुपक्षीय प्रतिस्पर्धा 

कलैयामा अघिल्लो चुनावमा कांग्रेसले मेयर तथा उपमेयर दुवै पदमा जित हासिल गरेको थियो । मेयरमा राजेश राय यादव तथा रहिमा खातुनले विजय हासिल गर्नुभएको हो । उहाँहरुको निकटतम प्रतिद्वन्द्वीमा एमालेका विनोदप्रसाद साह तथा एमालेकी प्रतिमाकुमारी यादव हुनुहुन्छ । 

गठबन्धनले मेयरमा कांग्रेस तथा उपमेयरमा जसपाको उम्मेदवारी रहने टुंगो लगाएको छ । कांग्रेसबाट हालका मेयर राजेश राय यादव, रामानन्द यादव र पूर्वखेलाडीसमेत रहेका फुलमहम्मद मियाँले मेयर पदको उम्मेद्वारमा दाबी गरिरहेका छन् । एमालेबाट भने जिल्ला अध्यक्ष तथा यसअघिका मेयर उम्मेदवार विनोद साह मुख्य दाबेदारका रुपमा हुनुहुन्छ । जसपाबाट मेयरमा प्रमोद गुप्ताको दाबी छ । 

६. जितपुर–सिमरामा गठबन्धन र एमालेको प्रतिष्पर्धा 

२०७४ को चुनावमा जितपुर–सिमरामा एमालेले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको हो । मेयर कृष्णप्रसाद पौडेल र उपमेयर सरस्वतीदेवी चौधरीको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णवर्त सिंह तथा कांग्रेसकै नारायणी रायमाझी हुनुहुन्थ्यो । 

अघिल्लो पटक चुनाव जितेका कारण आशावादी देखिएको एमाले विभाजनका कारण ढुक्क भने हुन सक्ने अवस्था छैन । गठबन्धनबीच उम्मेदवारीमा तालमेल देखिएका कारण पनि एमालेलाई सजिलो भने छैन । गठबन्धनबाट मेयरमा माओवादी तथा उपमेयरमा कांग्रेसको उम्मेदवारी हुने टुंगो लागेको छ । 

एमालेबाट हालका मेयर कृष्णप्रसाद पौडेल तथा उपमेयर सरस्वती चौधरी दुवैले मेयरको आकांक्षी बताइरहेका छन् । अन्य दाबेदारमा जिल्ला अध्यक्ष सुन्दर विक, प्रचार विभाग प्रमुख मनोज पौडेल, देवनारायण चौधरी र भरत खड्का छन् । 

माओवादीबाट पहिलेका उम्मेदवार राजन पौडेल, गान्धीदेवी थरुनी, धनबहादुर श्रेष्ठलगायतले आफ्नो दाबेदारी पेश गरिरहेका छन् । 

७. पौडेलको साखसँग जोडिएको बुटवल 

२०७४ सालको चुनावमा बुटवलमा एमालेले मेयर तथा उपमेयर दुवै पदमा जितेको थियो । त्यसबेला कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरे पनि मेयरमा  शिवराज सुवेदीले कांग्रेसका खेलराज पाण्डेयलाई पराजित गरेका थिए । उपमेयरमा भने गुमादेवी आचार्यले माओवादीका जगतबहादुर पोखरेललाई पराजित गर्नु भएको थियो । 

बुटवल एमाले नेता विष्णु पौडेलको साखसँग पनि जोडिएको छ । अझ अहिले एकीकृत समाजवादी छुटिएर गएका कारण पनि पौडेललाई आफ्नो शक्ति देखाउनु पर्ने हुन्छ । यहाँ गठबन्धनका तर्फबाट कांग्रेसले मेयर तथा एकीकृत समाजवादीले उमपमेयर पदमा उम्मेदवारी दिने भएका छन् । 

एमालेबाट मेयरको आकांक्षीमा शिवराज सुवेदी, गोपाल राना, बाबुराम भट्टराई, गोमादेवी आचार्य, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सुर्यबहादुर भट्टराई, बाबुराम पन्थी देखिएका छन् । 

नेपाली कांग्रेसबाट अघिल्लो चुनावमा मेयर पदका उम्मेदवार खेलराज पाण्डेय, उद्योगी सुरेन्द्र श्रेष्ठ त्यस्तै व्यवसायी चुन्नु पौडेल, हरिबहादुर आचार्य, रामेश्वर श्रेष्ठ पनि मेयरका  आकांक्षी देखिएका छन् । 

८. तुलसीपुरमा माओवादी निर्णायक 

तुलसीपुरमा २०७४ सालको चुनावमा मेयर तथा उपमेयरमा एमालेका घनश्याम पाण्डे तथा माया शर्माले जितेका थिए । कांग्रेसका गेहेन्द्र गिरी तथा देविका नेपाली घिमिरे त्यस बेला निकटतम प्रतिद्वन्द्वीका रुपमा थिए । 

तुलसीपुरमा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तर, यहाँ निर्णायक शक्तिको रुपमा भने माओवादी देखिन्छ । सत्तासीन दलबीच मेयरमा कांग्रेस तथा उमपेयरमा एकीकृत समाजवादीको उम्मेदवारी तय भएका कारण यहाँ पनि गठबन्धन हाबी ठानिएको छ । 

वर्तमान मेयर घनश्याम पाण्डेले आफू मेयरको आकांक्षी नभएको बताउनुभएको छ । यसकारण एमालेबाट निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्का, विनोद शर्मा, कृष्ण भुसाल, हालकी उपमेयर माया आचार्य मेयरका लागि आकांक्षी देखिएका छन् । 

कांग्रेसका तर्फबाट भने यसअघिका उम्मेदवार गेहेन्द्र गिरी, युवा नेता विमल रिजाल, नगर सभापति सुरेश हमाल, घनश्याम रेग्मी, नहकुल केसी, कीर्तिबहादुर खड्काको नाम चर्चामा छ । 

९. घोराहीमा एमालेलाई पुरानो नतिजा दोहाेर्‍याउन कठिन 

एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला भएका कारण पनि घोराही चर्चामा रहेको छ । यसअघि २०७४ सालको चुनावमा यो उपमहानगरको मेयरमा एमालेका नरुलाल चौधरी तथा उपमेयरमा सीता सिग्देल न्यौपानेले जितेको घोराहीमा निकटतम प्रतिद्वन्द्वी भने कांग्रेसका भूपबहादुर डाँगी तथा पुष्पा श्रेष्ठ हुनुहुन्थ्यो ।

एमाले विभाजन भएका कारण पहिले जत्ति मजबुत देखिंदैन घोराहीमा । गठबन्धनले माओवादीबाट मेयर तथा कांग्रेसबाट उपमेयरको उम्मेदवारी टुंगो लागेको छ । तालमेलका कारण यहाँ गठबन्धन हाबी हुने देखिएको छ । 

एमालेबाट हालका मेयर नरुलाल चौधरी, राममणि पाण्डे र भरत अर्याल आकांक्षीका रुपमा अगाडि आइरहनु भएको छ । तर, महासचिव शंकर पोखरेलको निकट भनेर चिनिएका चौधरी नै मुख्य दाबेदारका रुपमा हुनुहुन्छ । माओवादीबाट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तथा यस अघिका उम्मेदवार जीवन गौतम आकांक्षी देखिनु भएको छ । 

१०. नेपालगञ्जमा राप्रपा निर्णायक 

२०७४ सालमा भएको चुनावमा राप्रपाका धवलशमशेर राणाले मेयर जितेको नेपालगञ्जमा उपमयेरमा भने कांग्रेसकी उमा थापामगरले जित्नु भएको थियो । मेयर राणाको प्रतिद्वन्द्वी कांग्रेसका सुरेशकुमार कनोडिया तथा उपमेयर थापामगरको प्रतिद्वन्द्वी भने राप्रपाकी रमारानी गुप्ता हुनुहुन्थ्यो । 

मेयर राणाले अब उम्मेदवार नबन्ने बताइसक्नु भएको छ । राप्रपा र एमालेबीच तालमेलको कुरा पनि अगाडि बढिरहेको छ । नेपालगञ्जमा कमजोर देखिएको एमालेले राम्रो जनाधार भएका पशुपतिदयाल मिश्रालाई मेयरको टिकट दिने शर्तमा पार्टीमा भित्र्याएको छ । गठबन्धनले मेयरमा कांग्रेस तथा उमपेयरमा राजपाको उम्मेदवारी रहने कुरा टुंगो लगाएको छ । 

कांग्रेसबाट भने यसअघिका उम्मेदवार डा. सुरेशकुमार कनोडियाको चर्चा बढी छ । हालको उपमेयर उमा थापामगर, केन्द्रीय सदस्य मैकुलाल वाल्मीकि पनि मेयरमा आकांक्षी देखिएका छन् । 
एमालेबाट पशुपतिदयाल मिश्र बाहेक अरु नाम खासै चर्चामा छैन । राप्रपाबाट आकांक्षी रहेका मोहम्मद सफिक बेहना वडाध्यक्ष तथा व्यवसायी हुनुहुन्छ ।

११. धनगढीमा स्वतन्त्रको प्रभाव

२०७४ सालको चुनावमा कांग्रेसका नृपबहादुर वडले मेयरमा तथा कांग्रेसबाटै उपमेयर सुशीला मिश्र भट्टले जितेको धनगढीमा मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल तथा एमालेकी रुकमणि देवकोटा निकटतम प्रतिद्वन्द्वीका रुपमा हुनुहुन्थ्यो । 

यसअघि दुवै पदमा विजय हासिल गरेको आधारमा धनगढीमा कांग्रेस बलियो देखिन्छ । गठबन्धनबीच तालमेल भएका कारण यहाँ कांग्रेसका लागि अवस्था सहज देखिन्छ । गठबन्धनका तर्फबाट कांग्रेसले मेयर तथा उपमेयरमा माओवादीको उम्मेदवारीको टुंगो लागेको छ । 

कांग्रेसबाट देखिएका आकांक्षीमा हालका मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र भट्ट, व्यवसायी कृष्णबहादुर महरा छन् । 

उद्योगी÷व्यवसायी गोपाल हमालले स्वतन्त्र रूपमा लड्ने घोषणा गरिसक्नु भएको छ भने एमालेबाट जिल्ला उपाध्यक्ष दुर्गाप्रसाद जोशी र रणबहादुर चन्द प्रमुख दाबेदार मानिएका छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया