महानगर र उपमहानगरमा भागबण्डा मिले पनि कांग्रेसभित्र असन्तुष्टि बढ्दो

 वैशाख ८, २०७९ बिहीबार ८:११:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ गठबन्धनबीच महानगर र उपमहानगरमा भागबण्डाको टुंगो लागे पनि नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ । विराटनगर, पोखरा, भरतपुर, हेटौंडा तथा मधेसका स्थानीय कार्यकर्ताले भागबण्डाप्रति असन्तुष्टि जनाएका छन् ।

पोखरामा मेयर पद नपाएपछि कांग्रेसका असन्तुष्ट पदाधिकारी र कार्यकर्ताले कांग्रेस कास्कीको पार्टी कार्यालयमा ताला लगाएका छन् । पोखरा महानगरपालिकाको मेयरको पद गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको कोटामा परेको छ । पार्टी कार्यकताको भावनाविपरीत कांग्रेस एक्लै लड्दा पनि जितिने पोखरा महानगरको मेयर अरू पार्टीलाई दिएकोले ताला लगाइएको उनीहरुले बताएका छन् । 

चितवनमा पनि माओवादी केन्द्रलाई महानगरको मेयर दिने गठबन्धनको निर्णयप्रति भरतपुर कांग्रेसको असन्तुष्टि कायमै छ । मेयरमा माओवादीलाई दिएर उपमेयर कांग्रेसले लिने सहमति भएको छ । कांग्रेस कार्यकर्र्ताले यो निर्णय नमान्ने चेतावनी दिँदै आक्रोश व्यक्त गरेका छन् । कार्यकर्ताको असन्तुष्टि साम्य पार्न पार्टी सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं राज्यमन्त्री उमेश श्रेष्ठलाई हिजो चितवन पठाउनुभएको छ । 

विराटनगरको मेयर कांग्रेसलाई दिने निर्णय भए पनि उपमेयर जसपालाई दिने विषयमा कार्यकर्ता असन्तुष्ट छन् । मेयर र उपमेयर एक्लै चुनाव लड्ने निर्णय गरेर कांग्रेसको स्थानीय समितिले यसअघि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । महानगर समितिले यसअघि विराटनगरभित्र कोहीसँग पनि चुनावी तालमेल नगर्ने निर्णय गर्दै मेयर तथा उपमेयरका आकांक्षीमध्येबाट नाम पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरिसकेको थियो । 

यस्तै हेटौंडा उपमहानगरपालिकामा मेयर नपाए एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने त्यहाँका कांग्रेस नेता कार्यकर्ताले चेतावनी दिएका छन् । केन्द्रीय गठबन्धनमा हेटौंडा उपमहानगर एकीकृत समाजवादीलाई दिने सहमति भएपछि हेटौंडा कांग्रेस असन्तुष्ट भएको हो । कांग्रेस हेटौंडा उपमहानगर समितिले हिजो पत्रकार सम्मेलन गर्दै मेयर समाजवादीलाई छाड्ने नसक्ने जनाएको छ । 
गठबन्धनको सहमतिअनुसार मधेस प्रदेशमा जसपाका तर्फबाट वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका र कलैया उपमहानगरपालिकामा प्रमुख पदमा उम्मेदवार दिने सहमति भएको छ ।  यसबाट मधेशका कांग्रेस नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । वीरगन्जको मेयर जसपालाई दिने गठबन्धनको निर्णयमाथि पुनर्विचार गर्न पर्साका कांग्रेस नेताहरूले आग्रह गरेका छन् ।  

यस्तै गठबन्धनको भागअनुसार दाङको तुलसीपुर उपमहानगरपालिकाको नेतृत्व कांग्रेसलाई र घोराही उपमहानगरपालिकाको नेतृत्व माओवादी केन्द्रलाई परेको छ । कांग्रेस घोराही नगर समितिले भने यो भागबण्डाको विरोध गरेको छ ।
 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया