पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - पालिका चुनाव लागि आज र भोलि हुने मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तथा सम्बद्ध सबैमा अपिल गरेको छ ।
कानुन बमोजिमको योग्यता पुगेका सबै नागरिकको उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकारमाथि कहीँकतैबाट कुनै अवरोध आउन नदिन पनि आयोगले आग्रह गरेको छ ।
आयोगले निकालेको विज्ञप्तिमा भनिएको छ, 'निर्धारित दुई दिनमध्ये कुनै दिन दल वा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन आएको खण्डमा त्यही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइन्छ ।'
आयोगले आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । यसअघि चुनावमा उम्मेदवारको मनोनयन दर्ताका लागि एक दिन तोके पनि मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतलाई चाप धान्न कठिन भएकाले यसपालि दुई दिन समय निर्धारण गरेको आयोगको भनाइ छ ।
कतिपय ठाउँमा राजनीतिक दलका उम्मेदवारलाई गोलाप्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएकाले यो विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।
यस्तै, आयोगले चुनावको सबै तयारी व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको जनाएको छ । देशका ७५३ वटै पालिकाहरुमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइ कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने काम निरन्तर भइरहेको आयोगले जनाएको हो ।
आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, भोलि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पर्सि १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।
त्यसैगरी, १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । आउँदो ३० गते पालिका चुनाव हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।