खाँदबारीमा श्रीमान्–श्रीमती एउटै पार्टीबाट मेयर उपमेयरका उम्मेदवार

 बैशाख १५, २०७९ बिहिबार ८:५५:३३ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिकामा एउटै पार्टीबाट श्रीमान् श्रीमतीले मेयर उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । वैशाख ३० गते हुने पालिका तहको चुनावका लागि खाँदबारी नगरपालिकाको मेयरमा श्रीमान् सिताराम तिम्सिना र उपमेयरमा मैयाँदेवी चिमरियाले उम्मेदवारी दर्ता गराउनुभएको हो । दुवैजनाले समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिनुभएको हो ।

जिल्लामा ठूला पार्टीहरुमा टिकट ल्याउने विषयमा हानथाप र टिकट नदिएकै विषयमा पार्टी छोड्ने देखि बागी उम्मेदवारी उठिरहेको समयमा तिम्सिना दम्पतीले भने मेयर उपमेयरकै टिकट हात पारेका छन् । पूर्वशिक्षक समेत रहनुभएका तिम्सिना बोल्न र भाषण गर्न खप्पिस हुनुहुन्छ । मतदाताहरुको मनोभावना बुझेर बोल्न सक्ने क्षमता भएका तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषदको केन्द्रिय सदस्य समेत हुनुहुन्छ । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न र खाँदबारी नगरपालिकालाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको तिम्सिनाको भनाइ छ । 

खाँदबारी नगरपालिकामा मेयर पदका लागि लागि ३ जना स्वतन्त्र सहित ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । खाँदबारी नगरपालिका मेयरमा पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका महेश थपलिया, उपमेयरमा नेकपा माओवादी केन्द्रका दिव्यराज बरालको उम्मेदवारी परेको छ ।  नेकपा एमालेबाट जितबहादुर घिमिरे र उपमेयर महेश्वराको उम्मेदवारी परेको छ । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई र राष्ट्रिय जनमोर्चाका हेमकुमार गुरुङले मेयर पदमा मनोनयन दर्ता गराउनुएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा सोमनाथ खनाल र उपमेयरमा हिरादेवी श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै, स्वतन्त्र तीन जना प्रवीन कार्की, सुदीप गुरुङ र खड्गबहादुर दमाईले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

खाँदबारी नगरपालिका जिल्ला सदरमुकाम समेत रहेकाले जिल्लाकाे केन्द्रविन्दु पनि हो । खाँदबारी नगरपालिकाभित्र ११ वटा वडाहरु रहेका छन् । खाँदबारीमा ५७ पदका लागि १ सय ४१ जनाको उम्मेदवारी परेको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया