आचारसंहिता उल्लङ्घन गर्ने प्रमुख दल र नेतालाई निर्वाचन आयोगले गरायो सचेत

 बैशाख १८, २०७९ आइतबार ७:२३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले पालिका चुनावका लागि लागू गरेको आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दललाई सचेत गराएको छ । साथै आचारसंहिता उल्लङ्घन नगर्न निर्देशन समेत दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलले गएको चैत २६ गते काठमाण्डौको भृकुटीमण्डपमा गरेको सभामा आचारसंहिता प्रतिकूल दलको झन्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानबिन गरी आचारसंहिता विपरीत काम भएको ठहर समेत गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले पनि आचारसंहिता उल्लङ्न गरेको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको छ । माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोस्टर तयार गरी, प्रचारप्रसार गरिएको बारेमा आयोगले छानबिन गरेको थियो।

आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि आचारसंहिता उल्लङ्घन गरेको भन्दै सचेत गराएको छ । राप्रपाले चैत २७ गते हेटौँडामा गरेको कार्यक्रममा आचारसंहिता प्रतिकूल गतिविधि गरेको आयोगको ठहर छ ।

साथै, नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालालाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सजग गराएको छ ।

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारले पच्चीस लाख रुपैयाँसम्म खर्च गर्न सक्ने भए पनि प्रतिनिधि सभा सदस्य नवलपरासी (बर्दघाट सुस्तापूर्व) निर्वाचन क्षेत्र १ बाट निर्वाचित कांग्रेसका उम्मेदवार शशाङ्क कोइरालाले पेस गरेको खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ आयोगमा रहेको अभिलेखबाट देखिएको तर कोइरालाले आफूले ६ करोड खर्च गरेको अभिव्यक्ति दिनुभएको थियो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ । उहाँले पनि निर्वाचन आयोगले तोकेकोभन्दा बढी खर्च भएको र खर्चको गलत विवरण बुझाएको अभिव्यक्ति दिनुभएको थियो।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया