परदेशबाट ज्यानको साटो आएको त्यो ९६ लाख रुपैयाँ पाउने परिवार खोज्दा

 बैशाख २३, २०७९ शुक्रबार १५:५८:७ | अग्नि दुलाल
unn.prixa.net

प्रतिकात्मक फोटो

कन्सुलर सेवा विभागले जिल्ला प्रशासन कार्यालय पाँचथरमा पठाएको पत्र २०७७ पुसको पहिलो हप्ता मेरो हातमा पर्‍यो । पत्र मेरो लागि थिएन । तर जसको नाममा पत्र थियो ती व्यक्तिका परिवारलाई खोज्नु पर्ने जिम्मेवारी मेरो काँधमा आइपर्‍यो । 

जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा परामर्शकर्ताको रूपमा कार्यरत भएकाले पनि त्यो मेरो काम थियो । 

पत्र अनुसार मैले कुवेतमा ज्यान गुमाएका दुर्गाप्रसाद बास्कोटाको परिवारलाई खोज्नु थियो । तर ठेगानामा पाँचथर घुमाउनेटार मात्र लेखिएको थियो । 

सुरुमा त लाग्यो, ठेगाना छदै छ भेटिएला । 

तर १५ दिनसम्म हर प्रयास गर्दा पनि मेरो मेहनत बालुवामा पानी खन्याए बराबर भयो । 

जतिजनालाई सोध्दा पनि घुमाउनेटार र दुर्गाप्रसादको बारेमा पत्तो लागेन । 

मनमा एकखालको निराशा पलाइसकेको थियो । तर एक दिन घुमाउनेटार नै ठेगाना र थर पनि बास्कोटा नै भएका एक व्यक्ति आप्रवासी स्रोत केन्द्रमा आइपुग्नुभयो । वैदेशिक रोजगारीमा जानका लागि पासपोर्ट बनाउन आउनुभएका रमेश बास्टोकासँग वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुराहरूका बारेमा कुराकानी गरेँ । रमेशलाई भेट्दा मलाई ढुङ्गा खोज्दा देउता भेटे झैँ भयो । 

सोधेँ, ‘तपाईँकै गाउँको दुर्गाप्रसाद बास्कोटालाई चिन्नुहुन्छ ?’

उहाँले भन्नुभयो ‘उहाँ त मेरो काका हो नि तर पहिले नै विदेशमा बितिसक्नुभयो ।’

फेरि सोधेँ – ‘के भएर बित्नुभएको हो तपाईँलाई केही जानकारी छ ?’

‘विदेशमा काम गर्दा गर्दै बितेको भन्थे, त्योभन्दा त थाहा छैन’ उहाँले भन्नुभयो । 

अब मैले १५ दिनदेखि खोजिरहेका दुर्गाप्रसादका परिवार भेटिने निश्चित भयो । उहाँबाटै परिवारको बारेमा थप जानकारी पनि लिएँ । तर दुर्गाप्रसादको परिवारले केही वर्षअघि नै घुमाउनेटारबाट बसाइसराइ गरिसकेछ । अहिले कहाँ छन् भन्ने कुरा उहाँले पनि बताउन सक्नुभएन । तर परिवारको सम्पर्क नम्बर खोजेर दिने उहाँले प्रतिबद्धता गर्नुभयो ।

नभन्दै हप्ता दिनपछि उहाँले मलाई दुर्गाप्रसादकी श्रीमती इन्दिरा बास्कोटाकै मोबाइल नम्बर दिनुभयो । 

एक छिन् त इन्दिराको बोली रोकियो । असहज मान्दै भन्नुभयो ‘विदेश जानुभएको थियो, काम गर्ने क्रममा १२ तलाबाट खस्नुभएछ सर, उहाँ यो संसारमा हुनुहुन्न ।’

हतार हतार इन्दिरालाई फोन लगाएँ । तर कुराकानी गर्न त्यति सहज भएन । सुरुमा मैले व्यवसायिक परिचय नै दिएर सम्पर्क गर्दा पनि उहाँले फोन काटिदिनुभयो । उहाँसँग जसरी पनि कुरा गर्नु थियो । पुनः फोन गरेँ । 

भनेँ – ‘तपाईँसँग एउटा कुरा सोध्न पर्नेछ, फोन नकाट्नुहोस् प्लिज ।’

अब भने उताबाट अलिक नरम जवाफ आयो ‘भन्नुहोस् न के कुरा हो ?’

मैले पनि ढिलो नगरी चुरो कुरो नै सोधिहाले ‘तपाईँ दुर्गाप्रसाद बास्कोटालाई चिन्नुहुन्छ ?’

इन्दिराले भन्नुभयो ‘मेरो श्रीमान् हो उहाँ, तर तपाईँले किन सोध्नुभएको ?’

मैले भने– अहिले कता हुनुहुन्छ ?

एक छिन् त इन्दिराको बोली रोकियो । असहज मान्दै भन्नुभयो ‘विदेश जानुभएको थियो, काम गर्ने क्रममा १२ तलाबाट खस्नुभएछ सर, उहाँ यो संसारमा हुनुहुन्न ।’

वर्षौँ पहिलेको त्यो घाउ फेरि कोट्याउँदा मैले इन्दिराको मन दुखाएँ भन्ने भान त भयो । तर पनि जानकारी लिन आवश्यक थियो । मैले दुर्गाप्रसादको घर, परिवार, कागजात लगायत धेरै कुराहरू सोधेँ । दुर्गाप्रसादको पासपोर्ट नम्बर पनि मागेँ । इन्दिराले हेरेर भन्छु भन्नुभयो ।

त्यसको करिब ३ घण्टाजति पछि उतैबाट फोन गरेर इन्दिराले आफ्नो श्रीमानको पासपोर्ट नम्बर टिपाउनुभयो । इन्दिराले टिपाएको पासपोर्ट नम्बर र कन्सुलर सेवा विभागबाट आएको पत्रमा उल्लेख भएको दुर्गाप्रसादको पासपोर्ट नम्बर दाँजेँ । पासपोर्ट नम्बर मिल्यो । 

अब भने मैले वर्षौँ अघि बेतेका उनका श्रीमानको पासपोर्ट नम्बर माग्नुको कारण इन्दिरालाई बताउन मिल्ने भयो ।

फोन गरेँ र भनेँ, तपाईँको श्रीमानको नाममा विदेशबाट पैसा आएको छ । तपाईँको श्रीमानले काम गरेकाे कम्पनीले पठाएको पैसा जिल्ला प्रशासन कार्यालय पाँचथरमै आइसकेको छ कागजात पुर्‍याएर पैसा लिन आउनुहोस् । 

कमाउन गएका श्रीमान् नै संसारमा नरहेपछि इन्दिरालाई लाग्यो अब श्रीमानले साँचेका सपना मैले पूरा गर्नपर्छ ।  २०७२ सालमा उहाँ घुमाउनेटारबाट बालबच्चासहित झापा झर्नुभयो ।

मेरो कुरा सायद इन्दिरालाई पनि सपना झैँ लाग्यो कि । भक्कानिनुभयो । एक छिन् त अक्क न बक्क हुनुभयो । श्रीमानको कम्पनीबाट पैसा आएको कुरा सुनेपछि फोनमा आफ्ना सङ्घर्षहरू पोख्नुभयो । 

इन्दिराका अनुसार दुर्गाप्रसाद छोराछोरीलाई राम्रो बोर्डिङमा पढाउने सपना बोकेर २०६९ साल जेठ २३ गते कुवेत जानुभएको थियो । तर कुवेत पुगेको करिब १७ महिनापछि २०७० साल पुस ९ गते काम गर्दा गर्दै १२ तलबाट खसेर ज्यान गयो । 

कमाउन गएका श्रीमान् नै संसारमा नरहेपछि इन्दिरालाई लाग्यो अब श्रीमानले साँचेका सपना मैले पूरा गर्नपर्छ ।  २०७२ सालमा उहाँ घुमाउनेटारबाट बालबच्चासहित झापा झर्नुभयो ।

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका परिवारले वैदेशिक रोजगार बोर्ड  र बिमामार्फत पाउने रकमबाट उहाँले झापामा पाँच कठ्ठा जग्गा किन्नुभयो । त्यही रकमबाट छोराछोरीलाई बोर्डिङ स्कुलमा भर्ना गर्नुभयो ।

स्कुल शुल्क महँगो थियो । खान, बस्न र स्कुलको शुल्क पनि पुर्‍याउन इन्दिरालाई हम्मे हम्मे पर्न थाल्यो । केही समयपछि भने बालबच्चा पढ्ने स्कुलमै इन्दिराले पनि जागिर पाउनुभयो । शिशु कक्षामा बालबच्चाको रेखदेख गर्ने काम गरेरै इन्दिराले छोरालाई एसएलसीसम्म पढाउनुभयो । त्यसपछि भने उहाँ काठमाण्डौ हानिनुभयो । अहिले काठमाण्डौमै सानो घुम्ती पसल राखेर इन्दिरा छोराछोरी पढाउँदै गुजारा गरिरहनुभएको रहेछ । 

दुःखमा डुबिरहेका बेला पैसा आएको कुरा सुन्दा इन्दिरा कति रकम आयो भन्ने जान्न उत्सुक हुनुहुन्थ्यो । तर मैले जिल्ला प्रशासन कार्यालयमै कागजातसहित आएर बुझ्न अनुरोध गरेँ ।

चेक हातमा परेपछि छोरा र छोरीका लागि त्यो रकम जम्मा गर्ने प्रतिबद्धता समेत गर्नुभयो । छोराको हातमा चेक थमाउँदै भन्नुभयो ‘बाबु तैँले र बहिनीले बुवाको सपना पूरा गर्नु ।’

भोलिपल्ट इन्दिराका मामा जिल्ला प्रशासन कार्यालय आइपुग्नुभयो । उहाँको पनि चासो त आएको रकममा नै थियो । तर आप्रवासी स्रोत केन्द्रमार्फत हामीले उहाँलाई आवश्यक पर्ने कागजात र निवेदनका ढाँचाहरू दिएर पठायौँ । आएको रकमबारे जान्न भने आवश्यक कागजातसहित भान्जीलाई नै लिएर आउन अनुरोध गर्‍यौँ ।

२०७७ फागुन ३० गते इन्दिरा आफ्नो छोरासहित आवश्यक कागजात लिएर आप्रवासी स्रोत केन्द्र आइपुग्नुभयो । आप्रवासी स्रोत केन्द्रमार्फत मैले लेखा शाखामा आवश्यक समन्वय गरेँ । लेखा शाखाले भोलिपल्ट १ बजे आउन भन्यो । 

भोलिपल्ट २०७७ चैत १ गते इन्दिराको नाममा ९६ लाख १८ हजार ६ सय ७१ रुपैयाँको चेक लेखा शाखामार्फत इन्दिराको हातमा पर्‍यो । 

श्रीमान् बितेको ७ वर्षपछि कल्पनै नगरेको झण्डै एक करोड रुपैयाँको चेक हातमा पर्नु इन्दिराका लागि दिउँसै देखेको सपना झैँ थियो । चेक हातमा परेपछि छोरा र छोरीका लागि त्यो रकम जम्मा गर्ने प्रतिबद्धता समेत गर्नुभयो । छोराको हातमा चेक थमाउँदै भन्नुभयो ‘बाबु तैँले र बहिनीले बुवाको सपना पूरा गर्नु ।’

अन्तिम अपडेट: असार ४, २०७९

अग्नि दुलाल

अग्नि दुलाल सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत आप्रवासी स्रोत केन्द्र पाँचथरमा परामर्शकर्ताको रूपमा कार्यरत हुनुहुन्छ । सामी परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय परियोजना हो ।

4 Comments

  • भगवान घिमिरे

    May 6, 2022, 9:08 p.m.

    श्रीमान बितिसके ,जति रोईकराई गरेपनि फर्केर आउने होईन, जे होस् ढिलै भएपनि ऐक करोड रुपैयाँ आएछ, राम्रो भयो।त्यो पैसाले बालबच्चा पढाउन र घरखर्च चलाउन ठूलो राहत मिल्छ।

  •  0 Reply
  • Santosh magar

    May 6, 2022, 5:25 p.m.

    जे जस्तो भए पनि कम्पनी राम्रो रहेछ बाल बचाएको उजल भबिस्य को शुभकामना

  •  0 Reply
  • DINESH RAUT

    May 6, 2022, 4:41 p.m.

    Reality

  •  0 Reply
  • Dinesh Raut

    May 6, 2022, 4:38 p.m.

    It's very emotional andpainful.

  •  0 Reply

तपाईको प्रतिक्रिया