यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान

 बैशाख २३, २०७९ शुक्रबार १७:३८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेकाे छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएकाे जनाएको हो ।

विभागको अनुमानअनुसार आउँदाे जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसाे ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १ का तराईका भूभाग, बाग्मती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले गएकाे वर्षमा मनसुन अवधिभर ६ वटा स्टेशनमा वर्षाको रेकर्ड तोडिएको बताउनुभयो । उहाँका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेशनमा पहिलाको रेकर्डलाई ब्रेक गरेर मनसुन अवधिमा धेरै पानी परेकाे हाे । त्याे मनसुन वर्षाले ७९ जनाको ज्यान गएकाे उहाँले जानकारी दिनुभयाे । 

त्यस्तै जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले यो वर्ष पनि सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाेले बेलैमा सचेत रहन आग्रह गर्नुभयो । उहाँले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ–आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । उपमहानिर्देशक श्रेष्ठले पूर्वानुमान गतिको समय जति नजिक हुन्छ त्यति नै पूर्वानुमानको विश्वसनियता धेरै हुने गरेको र एक हप्ताभन्दा लामो समयको मौसमको पूर्वानुमानमा विश्वसनियता कम हुँदै जाने गरेको बताउनुभयो ।

त्यस्तै वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले नेपालमा मौसम पूर्वानुमान गर्ने छुट्टै अनुसन्धान केन्द्र नहुँदा समस्या भइरहेको गुनासो गर्नुभयो । उहाँले विभागमा अनुसन्धानका लागि 'स्किल ह्युमेन रिसर्च' हरूको आवश्यक रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया