नाैबिसेबाट नागढुङ्गासम्म ३ घण्टादेखि जाम, हजारौँ यात्रु अलपत्र

 वैशाख २८, २०७९ बुधबार १९:३५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर :घिमिरे युवराजकाे ट्विटरबाट

 काठमाण्डाै – ठाउँठाउँमा गाडी बिग्रिएका कारण धादिङकाे नौबिसेबाट काठमाण्डौको नागढुङ्गासम्मको सडकमा तीन घण्टादेखि जाम रहेको छ ।

राजमार्गभर गाडीको लाइन लागेको छ भने हजारौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौ भित्रिने र बाहिरिने यात्रुले दिउँसो २ बजेदेखि जाममा परेको गुनासो गरेका छन् । ठाउँठाउँमा गाडी बिग्रेका कारण सडक अस्तव्यस्त भएको ट्राफिक चेकपोस्ट नागढुङ्गाले जनाएको छ । गाडीको चापका कारण उपकरण लगेर बिग्रेका गाडी हटाउन समस्या भएको ट्राफिक प्रहरीको भनाइ छ । 

गाडी हटाउने एउटा उपकरण पनि सडकमा नराख्दा सास्ती भोग्नुपरेको भन्दै यात्रुले दुखेसो र आक्रोश पोखेका छन् । अलिकति उज्यालो नाटक अभियान सकेर काठमाण्डौ फर्कँदै गरेका कलाकार घिमिरे युवराजले नौबिसेबाट तीन घण्टामा पनि नागढुङ्गा पुग्न नसकेको गुनासो गर्नुभयो । ‘काठमाण्डौ भित्रिने मुख्य सडक जसलाई राजधानीको लाइफ लाइन पनि भनिन्छ, यस्तो महत्त्वपूर्ण सडकमा एउटा गाडी बिग्रँदा तीन/चार घण्टासम्म जाम खुलाउन नसक्ने कस्तो निकम्मा सरकार हो ?’, घिमिरेले आक्रोश पोख्नुभयो । 

अरनिको राजमार्ग पनि अस्तव्यस्त 

मतदानका लागि गाउँ जानेकाे भिडका कारण अरनिको राजमार्ग खण्ड पनि अस्तव्यस्त बनेको छ । आज बिहानैदेखि घर फर्कनेको दुई तथा चारपाङ्ग्रे सवारी साधनको लर्को लागेपछि अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौँ सडक जाम भएको छ ।

बिहानैदेखि बस स्टेशनमा बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो भने साना तथा ठूला गाडी रिजर्भ गरेर गाउँ फर्कने र सार्वजनिक यातायातमा गाउँ फर्कने सवारी साधनको समेत एकै पटक चाप बढेपछि अरनिको राजमार्ग घण्टौँ जाम भएको हो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया