मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

 असोज ३, २०७५ बुधबार ८:८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसिया - मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । मलेसियाका लागि कार्यवाहक राजदूत कुमार राज खरेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार ज्यान जानेमध्ये ६ जना नेपाली रहेको पुष्टी भएको हो । 

सञ्जय उराव, विशाल बुढाथोकी र मिमबहादुर घलेको नाम खुलेको र बाँकी तीनजनाको नाम खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । विषाक्त रक्सी पिउँदा अरु १७ जना नेपाली बिरामी भएका छन् । उनीहरुको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्राप्त जानकारी अनुसार सनगाइ बुलह अस्पतालमा ५ जनाको निधन भएकाे छ भने ९ जनाको उपचार भैरहेकाे छ । त्यस्तै कजाङ अस्पतालमा १ जनाको ज्यान गएको छ भने ५ जनाकाे उपचार भैरहेकाे छ । बन्टाङ, अम्पाङ र क्लाङ अस्पतालमा १/१ जना गरी तीन जना नेपालीकाे उपचार भैरहेकाे छ । 

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बेलुकासम्म बिरामी पर्नेको संख्या ५१ पुगेको छ । बिरामीमध्ये तीन जना मलेसियाली नागरिक छन् भने बाँकी नेपाल, म्यानमार, बंगलादेश र भारतका नागरिक रहेका छन् । 

मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार  अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । १४ जनाको अवस्था गम्भीर रहेको छ । 

बिरामी परेको भनिएकाहरुले कडा रक्सी पिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

निर्देशक डाक्टर नूरका अनुसार त्यहाँको स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलांगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको रक्सी किनेको खुलासा भएको छ । 

बिरामीहरुबाट लिइएको जानकारीअनुसार उनीहरुले तीनवटा ब्राण्डका रक्सी किनेका थिए । मण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की उनीहरुले स्थानीय बजारबाट किनेका हुन् । स्थानीय कारखानाहरुमा काम गर्ने विभिन्न देशका मजदुरहरुले सोमबार सार्वजनिक बिदा भएकाले खाने पिउने गरेको बताइएको छ ।

 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया