गठबन्धन सरकारले देशकाे वित्तीय क्षेत्र सीमित व्यक्तिकाे हातमा पुर्‍यायाे : रावल

 जेठ ५, २०७९ बिहिबार १५:६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सांसद डा. भीम रावलले वर्तमान गठबन्धन सरकारले देशकाे वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुर्‍याएकाे आराेप लगाउनुभएकाे छ । 

आज बिहीवार प्रतिनिधि सभा बैठकमा आउँदाे आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथिको छलफलमा बोल्दै रावलले यस्तो बताउनुभएको हो । उहाँले अर्थमन्त्रीले आउँदाे वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथमिकतामा औपचारिकता पूरा गर्ने र परम्परागत किसिमको ल्याएको बताउनुभयो । 

रावलले सरकारले नेपाली नागरिक र देशले सामना गर्नुपरेको आर्थिक समस्या समाधानतर्फ कुनै कुरा अगाडि नसारेको आरोप लगाउनुभयो । रावलले भन्नुभयो, ‘अर्थमन्त्रीले ल्याएको आउँदाे वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथकिकता औपचारिकता पूरा गर्ने र परम्परागत किसिमका छन् । नेपाली जनता र देशले सामना गर्नुपरेको समग्र राष्ट्रिय तथा आर्थिक समस्या समधानतर्फ कुनै उल्लेख्य कुरा अगाडि सारिएको छैन । वर्तमान गठबन्धन सरकारले प्राप्त छलफल र सांसदहरूको सुझाव सुन्ला भन्ने विश्वास छैन । यस्तो स्थितिमा सरकारको नीति र सिद्धान्तले कुनै परिर्वतन गर्ने देखिँदैन । पुँजीगत खर्च बढाउने र विकासको गति बढाउने सरकारले नीति ल्याएको खोइ ? सीमित व्यक्तिको हातमा वितिय प्रणाली गएको छ ।’

रावलले प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरेकोे आरोप लगाउनुभयो । अरुण तेस्रो निर्माण गर्न प्राधिकरणलाई अधिकार दिइएकोमा कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र औपचारिक निर्णयविना भारतलाई शेयर बिक्री गर्न लागिएको उहाँकाे आराेप छ । प्रधानमन्त्री देउवाले चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती भारतलाई दिनुपर्ने कुतर्क गरेको आरोप पनि लगाउनुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया