काठमाण्डौमा पहिलो पटक सुँगुर तथा बुङ्गुरमा अफ्रिकन स्वाइन फिभर भेटियो

 जेठ ७, २०७९ शनिबार ११:६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यका विभिन्न ठाउँमा पालिएका बुङ्गुरमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । यो रोगका कारण १ हजार १९ सुँगुर तथा बुङ्गुर मरेको  पशुसेवा विभागले जनाएको छ ।

काठमाण्डौको कागेश्वरी  मनोहरा क्षेत्रमा पालिएका बुङ्गुर मर्न थालेपछि नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको हो ।

पशु  सेवा  विभागबाट  खटिएका  प्राविधिक टोलीले प्रदेश र पालिकाका पशु  सेवासँग  सम्बन्धित  निकायसँग  सहकार्यमा  रोगको सघन निगरानी गर्ने क्रममा कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली र ललितपुरको गोदावरी क्षेत्र र भक्तपुरको चाँगुनारायण  क्षेत्रमा  पालिएका  फार्ममा  रोग देखा परेको पाइएको हो ।

यो रोग बुङ्गुरमा  नेपालमा  पहिलो  पटक  देखा  परेको हो । विभागका महानिर्देशक डा.  रामनन्दन  तिवारीले  उपत्यकाका  बुङ्गुरमा यो रोग देखापरेकाले अन्यन्त्र फैलिन नदिन सतर्कता अपनाइएको  बताउनुभयो ।

अफ्रिकन स्वाइन फिभर  रोग  लागेका  सुँगुर र बुङ्गुरको मासु राम्रोसँग पकाएर खाँदा  मानव   स्वास्थ्यलाई  असर  नगर्ने  उहाँको भनाइ छ ।  विभागका   अनुसार   यो   रोग   सङ्क्रमण भएमा सुँगुर प्रजातिमा ज्वरो आउने,  कान  पुच्छर,  पेटको  तल्लो  भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छटपटाउने लक्षण देखा पर्छ । तर अहिलेसम्म यो रोगविरुद्ध खोप उपलब्ध छैन ।

रोगी सुँगुर तथा बुङ्गुरको उपचारमा समस्या हुने भएकाले सावधानी अपनाउन विभागको आग्रह छ।
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया