प्रतिनिधिसभाकाे बैठक शुरु
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै – महिला सांसदहरूले बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद हटाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभामा नेकपा एमालेकी सांसद विन्दा पाण्डे, नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र) की सांसद अमृता थापामगरलगायतका सांसदहरूले यस्ताे माग गरेका हुन् । उनीहरूले नाबालिकाहरूमाथि हुने बलात्कारलगायतका घटनाको अनुसन्धानमा समेत हदम्याद लगाउने व्यवस्था राखिएको उल्लेख गर्दै त्याे व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका हुन् ।
सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी एक युवतीको विषयलाई लिएर प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आज आइतवार सिंहदरबारमा छलफलकाे आयाेजना गरेकाे थियाे । त्यही छलफलमा बोल्दै एमालेकी सांसद पाण्डेले त्याे घटनाको अनुसन्धानका लागि सरकारले हदम्याद हटाउने गरी तत्काल कानुन संशोधन नगरे आफूहरूले संसदमा सङ्कल्प प्रस्ताव ल्याउने चेतावनी दिनुभयो । उहाँले हदम्याद लगाउने हो भने पनि पीडितले मुख खोलेको वा घटना सार्वजनिक भएको दिनबाट मात्रै हदम्याद लगाउन उपयुक्त हुने स्पष्ट पार्नुभयो ।
सांसद पाण्डे
सांसद पाण्डेले भन्नुभयाे, ‘कम्तीमा पनि बालिकाहरूमाथि हुने यस्ता घटनामा जुन दिन मुख खोल्ने अवस्था हुन्छ, त्यही दिनबाट मात्रै हदम्याद लगाउने व्यवस्था गर्न उपयुक्त हुन्छ । अहिले तत्काल विधेयक ल्याएर हदम्याद हटाउनुपर्ने हुन्छ ।’
नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सौन्दर्य प्रतियोगिताका आयोजकले अपराध गरेको भन्ने कुरा स्वतः सिद्ध भएकाले घटनाका पीडित (ती युवती) लाई तत्काल न्याय दिन सरकारसँग माग गर्नुभयो । उहाँले घटनाकाे अनुसन्धान गरेर अपराधीलाई कारबाही गर्न पनि ढिलाइ नगर्न सरकारलाई सचेत गराउनुभयो ।
सांसद भुसाल
सांसद भुसाले भन्नुभयो, ‘अपराधको घटना हो भन्ने स्पष्ट भएपछि अनुसन्धान तत्काल सुरु गर्नुपर्छ । अपरोध हो भनेपछि पहिलो कुरा अनुसन्धान सुरु गर्नुपर्छ । यौनहिंसाका घटनालाई हदम्यादको नाममा ढिलासुस्ती गर्न मिल्दैन ।’
नेकपा (माओवादी केन्द्र) की सांसद अमृता थापामगरले यौन हिंसामा परेकाहरूलाई तत्काल राहत दिने व्यवस्था पनि कानुनमै उल्लेख गर्न सरकारलाई दबाब दिनुभयो । उहाँले मनोरञ्जन र अनौपचारिक क्षेत्रका महिलाहरू यौन हिंसाका कारण प्रताडित हुनुपरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि राजनीतिक पार्टी र त्यसका भातृ सङ्गठनहरूले पनि पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद थापामगर
सांसद थापामगरले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि भएका कानुनहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन नसकेको भन्दै सरकारको आलोचनासमेत गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।