नेपालमा पहिलाे पटक देखा पर्‍याे 'अफ्रिकन स्वाइन फिभर'

 जेठ ८, २०७९ आइतबार १९:५४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा पहिलो पटक 'अफ्रिकन स्वाइन फिभर' नामक भाइरस देखा परेको छ । काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार काठमाण्डौको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी नगरपालिका १२ र भक्तपुरको चाँगुनारायण क्षेत्रमा फैलिएको सङ्क्रमणका कारण अहिलेसम्म एक हजार १९ वटा सुँगुर मरिसकेका छन् । एक हजार चार सय २६ वटा शङ्कास्पद र एक हजार तीन सय ६४ वटा सुँगुर बिरामी परेका छन् । 

'बर्ड फ्लु' जस्तै प्रकृतिको यो भाइरस घरपालुवा सुँगुर, बङ्गुर र जङ्गली बँदेल प्रजातिमा देखा पर्ने भाइरस हो । यो रोग पशुबाट मानिसमा भने सर्दैन । यो रोगबाट सङ्क्रमण भएमा सुँगुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखा पर्छ । 

विभागका अनुसार यो उच्च मृत्यु दर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग हो । महानिर्देशक तिवारीले यो रोगविरुद्ध अहिलेसम्म कुनै खोप उपलब्ध नभएकाले सर्तकता नअपनाइएमा ठूला आर्थिक क्षति गराउने सक्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया