काठमाण्डौमा यात्रुका दु:ख : सार्वजनिक गाडीमा यात्रा गर्नै सास्ती (फाेटाे फिचर)

 जेठ १४, २०७९ शनिबार १०:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यकाभित्रको यात्रा दिनप्रतिदिन कष्टकर बन्दैछ । यहाँका सडकमा गुड्ने सार्वजनिक यातायातमा अत्यधिक भिड लाग्ने गर्छ ।

सङ्घीय राजधानीका कारण जनघनत्वको चाप र त्यसलाई व्यवस्थित गर्न नसक्नुले पनि काठमाण्डौमा भनेजस्तो यात्रा गर्न सहज छैन । सार्वजनिक यातायात अव्यवस्थित र असुरक्षित छँदैछ भने अर्कोतिर निजी गाडीमा यात्रा गर्दा पनि ट्राफिक जामको कारण समयमै गन्तव्यमा पुग्न सकिँदैन ।

काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा एकातिर यात्रुहरु चाँडै गन्तव्यमा पुग्न सक्दैनन् भने अर्कोतिर ट्राफिक नियमको पालना हुँदैन । सार्वजनिक गाडीमा यात्रा गर्ने यात्रुहरुको गाडीबाट नै मोबाइल, पैसा हराएका घटनाहरु पनि बेलाबेलामा सार्वजनिक भइरहेका हुन्छन् ।

नियमानुसार सिटभन्दा बाहेक यात्रु राखे ट्राफिक कारबाही भोग्नुपर्छ । तर ट्राफिक प्रहरीकै अगाडि यात्रु कोचेर सार्वजनिक गाडी चलाउने गरिएको छ । यसरी चलाएबापत सार्वजनिक यातायातले दण्डित हुनुपर्दैन । गाडी नपाउँदा यात्रु पनि कोचिएर/झुन्डिएर यात्रा गर्न बाध्य छन् ।

सार्वजनिक यातयातमा कष्टकर यात्रासँगै यात्रुका लागि दुर्घटनाको जोखिमसमेत बढेको छ । शनिवार र आइतवार सार्वजनिक बिदा भएकाले पनि अन्य दिन सडकमा भिड बढेको हाे । निजी तथा सरकारी कार्यालय एकै समयमा खुल्नु पनि गाडी चाप हुनुकाे एउटा कारण हो ।

काठमाण्डौ टुँडीखेल आसपास बजारको विस्तार, चक्रपथबाहिर सरकारी तथा कर्पोरेट कार्यालय नहुनुले पनि सार्वजनिक यातायात भरिभराउ हुन्छन् । काठमाण्डाैमा व्यवस्थित बसपार्कको अभावमा पनि सडकमा भिड बढ्ने गरेको छ ।

पछिल्लो समय बस पार्कमा पुगेर आरामले बस चढ्न र गन्तव्यमा जानसक्ने अवस्था छैन ।

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया