आउँदो आर्थिक वर्षको बजेट आज आउँदै : मतदाता रिझाउने र महत्वाकाङ्क्षी कार्यक्रम समेटिँदै

 जेठ १५, २०७९ आइतबार ७:२१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले आज आउँदो आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अर्थमन्त्री जनार्दन शर्माले दिउँसो चार बजे आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लाग्नुभएको हो ।

देशको अर्थतन्त्र जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा आउन लागेको बजेटलाई चासोका साथ हेरिएको छ । तर सरकारले आसन्न सङ्घीय र प्रादेशिक चुनाव लक्षित मतदाता रिझाउने गरी महत्वाकाङ्क्षी बजेट ल्याउने तयारी गरेको छ । नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपैयाँको सीमा निर्धारण  गरेको  छ  ।

सरकारले तोकिएको सीमाभित्रै रहनेगरी बजेट ल्याउने जनाएको छ । बजेट १७ खर्ब हाराहारीको बनिरहेको अर्थमन्त्रालयका अधिकारीले बताएका छन् । बजेटमा सामाजिक सुरक्षा, कर्मचारीको तलब वृद्धि, करका दर परिवर्तन, आयकर छुट, भन्सार छुट, इन्धनमा १० रुपैयाँ कर कटौतीलगायतका कार्यक्रम समेट्ने तयारी छ ।

उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड  दिनेगरी  नयाँ  बजेट  ल्याउने  सरकारको  तयारी  छ  ।  स्रोत र खर्च क्षमतालाई केन्द्रमा राखेर कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञले पनि सुझाव दिएका छन् ।

मूल्यवृद्धि नियन्त्रण गर्ने र उपभोक्तालाई राहत पुग्ने कार्यक्रम ल्याउन र ती कार्यक्रमको कार्यान्वयन पक्षमा ध्यान दिन पनि उनीहरुको जोड छ । चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट आएको थियो । तर अर्धवार्षिक समीक्षाबाट आकार घटाउँदै १५ खर्ब ४६ अर्ब रुपैयाँको बनाइएको थियो ।

नयाँ बजेटको कार्यान्वयनमार्फत ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने योजना आयोगको प्रक्षेपण छ । बजेट संसदमा पेस गर्नुपूर्व मन्त्रिपरिषद्को  बैठकले  स्वीकृत गर्नुपर्ने हुन्छ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया