‘तेलको गन्ध आएको ठाउँ हेर्दै जाँदा दुर्घटनाग्रस्त जहाज भेटियो’

 जेठ १६, २०७९ सोमबार ९:३२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : नेपाली सेना

काठमाण्डाै - मेरो नाम विशाल घर्ती हो । घर बाग्लुङ पर्छ । म वैशाखको ५, ६ गतेदेखि नै यार्सागुम्बा सङ्कलनको लागि मुस्ताङमा छु ।

हिजो बिहान म साथीहरुसँगै यार्सागुम्बा सङ्कलन गर्दै थिएँ । उताबाट जहाज उडेको आवाजसँगै एक्कासी ड्वाङ्ग गरेको अर्को आवाज आयो । डम्म बादल लागेकोले केही पनि देखिएन । साथीहरु कोही बास बस्ने गोठमा थिए । हामी चार जना चाहिँ पाखामा यार्सागुम्बा सङ्कलन गर्दै थियाैँ ।

आवाज आउनेबित्तिकै जहाज दुर्घटना भयो भन्ने लाग्यो । केहीबेरपछि जहाज हराएको हल्ला पनि फैलियो । त्यसपछि हामी त्यहाँ भएका सबै मिलेर वरपर खोज्यौँ । तर पानी र बादलले गर्दा केही देखिएन । बेलुकी अबेरसम्म खोज्दा पनि नभेटेपछि गोठमा फर्किएर सुत्यौँ।

अनि आज बिहान ५ बजे चिया पिउनेबित्तिकै हामी खोज्न भनेर निस्कियौँ । सुरुमा तीन जना गयौँ । डम्म बादल लागेकाले नजिककै ठाउँ पनि देखिने अवस्था थिएन । लगभग एक घन्टा हिँडेपछि तेलको गन्ध आयो । साथीहरु अलि माथि थिए । म चाहिँ गन्ध आएको ठाउँको नजिक थिएँ । त्यसपछि मैले साथीहरुलाई बोलाएँ । यता तेलको गन्ध आएको छ भनेपछि साथीहरु पनि आए ।

गन्ध आएको ठाउँतिर जाँदा पाखाको ढिस्कोमा जहाज टुक्राटुक्रा अवस्थामा देखियो । कोही जीवित छन् कि भनेर वरपर हेर्यौँ । तर त्यस्तो भेटिएन । अनि मैले तल मेरो भिनाजु यामप्रसाद बुढाथोकीलाई खबर गरेँ। त्यसपछि मलाई असई साबले फोन गर्नुभयो । अनि उहाँलाई दुर्घटनाग्रस्त जहाजको फोटो पठाएँ । 

(आइतवारदेखि हराइरहेको तारा एअरको जहाज पहिलोपटक देखेका घर्तीसँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया