विष्णु पाैडेललाई मिनेन्द्र रिजालकाे जवाफ : पहिला आफूले ल्याएकाे बजेट हेर्नुहाेस्

 जेठ १७, २०७९ मंगलबार १३:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेटको मूल दिशा ठिक रहेको बताउनुभएको छ । 

आज मङ्गलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता रिजालले एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पाैडैललाई यस्ताे जवाफ दिनुभएकाे हाे । रिजालले ठिक प्राथमिकतालाई समेटेर बजेट ल्याएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवादसमेत व्यक्त गर्नुभयो । 

पूर्वमन्त्री समेत रहनुभएका नेता रिजालले अघिल्लो वर्ष आफूले ल्याएको बजेटलाई हेरेर मात्रै आउँदाे आर्थिक वर्षको बजेटबारे टिप्पणी गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रहसमेत गर्नुभयो ।

अघिल्लो वर्ष सरकारले आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुन्छ भन्दा ठिक हुने तर अहिलेको सरकारले ८ प्रतिशत वृद्धि हुन्छ भन्दा आलोचना गर्न एमालेले नमिल्ने नेता रिजालकाे तर्क छ ।उहाँले भन्नुभयो, ‘बजेटको मूल दिशा ठिक छ । जस्तो आउनेपर्ने थियो त्यही आएको छ । अर्थमन्त्रीले ठिक प्राथमिकतालाई समेटेर बजेट ल्याउनुभएको छ ।पोहोर साल उहाँ (विष्णु पाैडेल) ले बजेटको विवरण संसद् होइन संसद् बाहिर प्रस्तुत गर्दा आज बोलेकै कुरा सम्झिएर प्रस्तुत गरेको भए कति राम्रो हुने थियो । उहाँले त्यस बेला ६ दशमलव ५ प्रतिशतले वृद्धि हुनेछ भन्नुभएकाे थियाे । कोभिडले थलिएको थियो देश । खोप लगाउनु सुरु पनि गरिएको थिएन । आज ८ प्रतिशत भन्दा उहाँलाई अचम्म जस्तो लाग्यो । मैले यति भन्छु– भूमिका बदलिएको छ ।’

नेता रिजालले एमालेको भूमिका सत्ता पक्षबाट प्रतिपक्षमा बदलिएकाे तर बजेटको प्राथमिकता भने नबदलिएको बताउनुभयो । 

यसअघि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले २०७९/८० का लागि ल्याएको बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तै भएको बताउनुभएको थियाे ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया