‘अनुमति बिना मेरो श्रीमानको शव जलाउने कम्पनीलाई कारबाही कसले गर्ला ?’

 जेठ १९, २०७९ बिहिबार १६:२८:३२
unn.prixa.net

पार्बती बि.क / मकवानपुर ।

मकवानपुर – कृष्णमाया तामाङको मनमा घरीघरी लाग्छ ‘त्यो बेला मेरो श्रीमानले भनेको मान्दिएको भए आज साथै भइन्थ्यो कि ।’ तर भन्छन् नि हुने हुनामी टारेर टर्दैन । त्यस्तै भयो कृष्णमायाको जीवनमा पनि ।

अब परदेश नजानुस् भन्ने कृष्णमायाको अनुरोधलाई श्रीमान् मोतीलाल थिङले त्यो बेला मान्नुभएन । ‘यो अन्तिम पटक हो, अब गएपछि फेरि जान्न’ भन्ने बाचा गरेर सन् २०१८ मा माेतीलाल साउदी जानुभयाे । 

सन् २०१३ देखि नै साउदी बस्दै आउनुभएका मोतीलालको साउदी पुगेको १७ महिना पनि नबित्दै प्राण गयो । 

‘त्यो बेला मेरो बुढाले भनेको मान्दिएको भए, दुर्घटना नै भए पनि मैले अनुहार त देख्न पाउँथेँ, तर म त कति अभागी रहेछु, अनुहारसमेत देख्न पाइनँ ’ कृष्णमाया आफैँसँग गुनासो गर्नुहुन्छ । 

कम्पनीकाे छल

मकवानपुरको हेटौडाका मोतीलालसँग कृष्णमायाको सन् २०१५ मा प्रेम विवाह भएको थियो । मोतीलाल विवाह अघिदेखि नै साउदीमा काम गर्नुहुन्थ्यो । बिहेपछि भने कृष्णमायाको चाहना श्रीमानलाई विदेश नपठाउने थियो । घरमै दुई जना मिलेर केही व्यवसाय गरेर बसौँला भन्नु पनि भएको थियो कृष्णमायाले । तर मोतीलालले मान्नुभएन ।

सुरुवातदेखि नै गाडी चलाउने काममा साउदी जानुभएका मोतीलाल यस पटक पनि गाडी चलाउने काममा जानुभएको थियो । 

‘यो अन्तिम पटक हो, एक पटक जान देऊ, फेरि जान्न भन्नुभएको थियो’ कृष्णमाया श्रीमानले त्यो बेला दिएको बचन सम्झँदै भन्नुहुन्छ ‘यस्तो हुनलाई रहेछ नि भगवानले पनि साउदी बोलाएको ।’ श्रीमानले केही वर्ष कमाउने मन गरेपछि कृष्णमायाको केही सीप चलेन । सन् २०१८ मा नयाँ कम्पनीमा साउदी नै जानुभयो । 

सुरुवातदेखि नै गाडी चलाउने काममा साउदी जानुभएका मोतीलाल यस पटक पनि गाडी चलाउने काममा जानुभएको थियो । 

तर मोतीलालले श्रीमतीसँग गरेको बाचा पूरा गर्न पाउनुभएन । त्यहाँ पुगेको १७ महिनामै उहाँले चलाइरहेको ट्रक दुर्घटनामा पर्‍यो । साउदीबाट आएको जानकारी अनुसार मोतीलालले चलाएको गाडीमा अर्को गाडी ठोक्कियो । साउदी रहेको नेपाली दूतावासले कृष्णमायालाई पठाएको चिठ्ठी अनुसार दुई गाडी ठोक्किँदा आगो लाग्यो । दुर्घटनामा मोतीलालको शव पहिचान गर्न नसक्ने गरी जल्यो । 

तर यो खबर पाउन पनि कृष्णमायालाई निकै सास्ती भयो । सन् २०२० को जुलाई २१ मा दुर्घटनामा परेका मोतीलालको खबर परिवारले  तीन दिनपछि मात्रै पायो । 

‘उहाँसँगै काम गर्ने साथीको श्रीमतीले यो खबर दिनुभयो, हामीलाई पत्यार नलागेर यहाँबाट जेठाजु दाइले म्यानपावरमा गएर बुझ्नुभयो, म्यानपावरमा बुझ्दा दुर्घटना भएको हाे तर उहाँ नै हो भन्ने चाहिँ यकिन नभएको बतायो ’ कृष्णमाया भन्नुहुन्छ ।

त्यसको १५ दिनपछि म्यानपावरले  साउदीमा दुर्घटनामा परेका मोतीलालको शव पहिचानका लागि यहाँबाट आफन्तको डिएनएको नमुना पठाउन खबर गर्‍यो । तर कोरोना महामारीको कारण देशमा लकडाउन थियो ।  

त्यसपछि कन्सुलर सेवा विभागले जिल्ला प्रशासन कार्यालयलाई पास उपलब्ध गराइदिन चिठ्ठी लेख्यो ।  कन्सुलर सेवा विभागले चिठ्ठी लेखेपछि भने जिल्ला प्रशासन कार्यालयबाट पास लिएर काठमाण्डौ आई मोतीलालको बुवा आमाको डिएनए नमुना साउदी पठाइयो । 

साउदीमा रहेको नेपाली दूतावासका अनुसार नेपालबाट पठाएको डिएनएको नमुना लिएर दूतावास अस्पतालमा पुग्दा त्यसको दुई दिन अघि नै मोतीलालको अन्त्येष्टि भइसकेको जानकारी दूतावासलाई दिइयो । 

डिएनए नमुना म्याच नगराएसम्म शवको अन्त्येष्टि नगर्न अस्पताल र प्रहरीलाई अनुरोध गरे पनि जानकारी बिनै शवको अन्त्येष्टि गरिएको दूतावासले जनाएको छ ।

कृष्णमायालाई निद्रा नलाग्ने, छटपटी भइरहने, संसारमा बाँच्नुको अर्थ छैन भन्नेजस्ता सोचहरू आउन थाल्यो । 

‘मलाई त श्रीमान् जीवितै होलान् जस्तो लागिरहन्थ्यो तर जब श्रीमानको शव नै जलाइसकेको कुरा सुनियो तब भने मलाई यो संसारमा छुइन कि झैँ भयो’ कृष्णमाया त्यो कालो दिन अहिले पनि सम्झन सक्नुहुन्न ।

साउदीमा रहेको नेपाली दूतावासले २०२० को नोभेम्बर ३० मा कन्सुलर सेवा विभागलाई पठाएको चिठ्ठीमा कम्पनीले दूतावासलाई खबर नै नगरी मोतीलालको अन्त्येष्टि गरेको र बाँकी रहेको हरहिसाब समेत उपलब्ध नगराएको उल्लेख गरिएको छ । 

कृष्णमाया दूतावासलाई प्रश्न गर्दै भन्नुहुन्छ ‘मैले अनुमति नै नदिई मेरो श्रीमान् जलाउने कम्पनीलाई दूतावासले किन कारबाही गर्न सक्दैन ?’

अनुहारसमेत देख्न नपाउँदाको छटपटी

कृष्णमायाको जीवनको  आस भरोसा श्रीमान् मात्र थिए । श्रीमानकै कमाइमा दुई छोराछोरी हुर्काइरहनुभएको थियो । तर एकाएक श्रीमानले संसार छाडेको खबर कृष्णमायाका लागि कल्पनाभन्दा परको थियो । काखमा बालबच्चालाई काखी च्यापेर अघि बढ्नु पर्ने चुनौती कृष्णमायाको काँधमा आइपर्‍यो । यो परिस्थितिमा कृष्णमायालाई आफ्नो सबै संसार सकिए झैँ लाग्यो । 

भन्नुहुन्छ ‘मलाई त सपना हो कि बिपना के हो के छुटाउनै गाह्रो हुन थाल्यो, आँखा खोल्दा नि चिम्लँदा पनि श्रीमान् मात्र देख्न थाले, मेरो दिनरात रोएर नै बित्न थाल्यो ।’ 

कृष्णमायालाई निद्रा नलाग्ने, छटपटी भइरहने, संसारमा बाँच्नुको अर्थ छैन भन्नेजस्ता सोचहरू आउन थाल्यो । 

कृष्णमायाको श्रीमान् परदेशमा ज्यान गएको र उहाँको अवस्था बारेमा उहाँको भाउजुमार्फत सुरक्षित आप्रवासन (सामी) परियोजनामा कार्यरत मनोपरामर्शकर्तालाई जानकारी भयो । 

कागजात झिकाउन भोगेका सास्ती

कृष्णमायाको बारेमा जानकारी भएपछि उहाँको समस्या बुझ्न परियोजनाका मनोपरामर्शकर्ता घरमै जानुभयो र सामी परियोजनाले गर्ने कामबारे जानकारी गराउनुभयो ।

विदेशमा मृत्यु हुनेका परिवारले वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता पाउने र त्यसको आवश्यक प्रक्रियाका लागि आप्रवासी स्रोत केन्द्रले समन्वय र सहजीकरण गर्ने कुरा पनि जानकारी गराउनुभयो । तर श्रीमान् गुमाउनुको पीडामा डुब्नुभएकी कृष्णमायाले सुरुवाती दिनमा चासो दिनु भएन ।

तर साउदीबाट आउनुपर्ने कागजातसमेत ४ महिना बित्दा पनि नआएपछि भने कृष्णमाया फेरि आप्रवासी स्रोत केन्द्रमा आउनुभयो । सेप्टेम्बर २०२० मा कृष्णमाया आप्रवासी स्रोत केन्द्रमा सहयोग माग्न आएपछि भने केन्द्रले कृष्णमायालाई आवश्यक सहयोग गर्‍यो । 

साउदीबाट आवश्यक कागजात झिकाइ दिनका लागि केन्द्रले नै कन्सुलर सेवा विभागमा इमेल गर्‍यो । सम्बन्धित निकायमा पहल गरेपछि भने कृष्णमायालाई केन्द्रप्रति विश्वास बढ्यो । 

परियोजनामार्फत नै मनोपरामर्शकर्ताले पनि कृष्णमायासँग नियमित भेटघाट र मनोपरामर्श गर्नुभयो । 

‘मेरो घरमा नियमित आएर मलाई सम्झाउने, बुझाउने गर्नुभयो, उहाँहरूसँग कुरा गर्दै जाँदा त मन पनि हल्का हुँदै गयो’ कृष्णमाया भन्नुहुन्छ ‘म त सबैतिरबाट हार खाएको बेलामा बाँच्छु भन्ने आस नै मारेको थिएँ, तर संसार सबै आफूले सोचेजस्तो मात्र पनि रहेनछ, अहिले त आँट पलाएको छ ।’

‘मेरो दुई सन्तानका लागि यही रकमले केही गर्छु भन्ने सोचेको छु, यो आँट मैले मनोपरामर्शबाटै बटुलेको हुँ ।’

नियमित परामर्शपछि भने कृष्णमायाको मनको छटपटी पनि कम हुँदै गयो । निद्रा नलाग्ने, खान मन नलाग्नेजस्ता समस्या पनि कम हुँदै गएको उहाँ बताउनुहुन्छ ।

‘अहिले त मलाई खाना पनि रुच्छ, पहिले त कसैसँग पनि बोल्न मन लाग्दैन थियो अहिले  मलाई त्यस्तो हुँदैन, केही गर्न सक्छु जस्तो लागेको छ’ कृष्णमाया अनुभव सुनाउनुहुन्छ ।

आप्रवासी स्रोत केन्द्रको समन्वय र सहजीकरणमा १ डिसेम्बर २०२० मा साउदीबाट मोतीलालको मृत्युको कारण, दूतावासले लेखेको चिठ्ठी लगायतको कागजात आयो । 

कागजात प्राप्त भएपछि स्रोत केन्द्रले नै वैदेशिक रोजगार बोर्ड  र बिमामार्फत पाउने आर्थिक सहायताका लागि प्रक्रिया अघि बढायो । कृष्णमायाले  २०२१ अप्रिलमा वैदेशिक रोजगार बोर्डबाट ७ लाख र बिमाबापत १४ लाख रुपैयाँ गरी २१ लाख रुपैयाँ आर्थिक सहायता प्राप्त गर्नुभयो । 

‘मेरो दुई सन्तानका लागि यही रकमले केही गर्छु भन्ने सोचेको छु, यो आँट मैले मनोपरामर्शबाटै बटुलेको हुँ ' कृष्णमाया मुस्कुराउँदै परियोजनालाई धन्यावाद दिनुहुन्छ ।

(पार्वती बि.क सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत मकवानपुरमा रहेको आप्रवासी स्रोत केन्द्रमा परामर्शकर्ताको काम गर्नुहुन्छ । सामी नेपाल सरकार र स्वीस सरकारबीचको  दुईपक्षीय परियोजना हो ।)

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया