जति धेरै राजनीतिक दल, त्यति धेरै अस्थिरता : शंकर पाेखरेल

 जेठ १९, २०७९ बिहीबार १७:१९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । 

आज बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताउनुभएको हो । उहाँले दलहरूको गठबन्धनले देश बनाउन नसकिने बताउनुभयो । उहाँले जति धेरै राजनीतिक दलहरू हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने बताउनुभयो । 

देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरूको निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरू राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘दुनियाँमा कहीँ पनि गठबन्धनले देश बनाएको, दलहरू मिलेर देश बनाएको भन्ने कुरा हामीले सुन्दैनौँ । देश बनाउनका लागि राष्ट्रिय शक्ति चाहिन्छ । गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन । आज देशको राजनीतिलाई गठबन्धनतर्फ लाने कोसिस भएको छ, यो राष्ट्र निर्माणको बाटो होइन । प्राविधिक रूपमा जित हासिल गर्नका लागि गठबन्धन सफल भयो होला तर त्यसका माध्यमबाट देश बन्न सक्दैन । जति धेरै राजनीतिक दल त्यति धेरै अस्थिरता । जति धेरै राजनीतिक दल त्यति धेरै वैदेशिक हस्तक्षप । यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ हो ।’

महासचिव पोखरेलले भन्सार नीतिमा गरिएको हेरफेरका कारण विदेशी मुद्राको सञ्चीतिमा गिरावट आएको बताउनुभयो । व्यापारीहरूले आयातमुखी नीति फेरि नआउने ठानेर अस्वाभाविक रूपमा आयात गरेका कारण विदेशी मुद्राको सञ्चीतिमा ह्रास आएको उहाँले बताउनुभयो ।

महासचिव पाेखरेलले सरकारले हुन्डी कारोबारीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको बताउनुभयो । रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउन छाडेको उल्लेख गर्दै उहाँले बैंकिङ नीतिलाई प्रभावकारी बनाउन सकेको भए त्यसो नहुने धारणा राख्नुभयो । सरकारले स्रोत नखुलेको लगानी भित्राउने नीति अगाडि बढाएसँगै बजारबाट पैसा हराएको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया