वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह

 जेठ २०, २०७९ शुक्रबार ८:१३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न गाडी धनीलाई आग्रह गरेको छ ।

प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयमा दर्ता रहेका सबै गाडीमा चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिएको छ । सरकारले गएको कात्तिक २२ मा राजपत्रमा सूचना निकालेर प्रदेशको नामाकरण भएका वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको थियो । अहिले प्रदेश-२ को नामाकरण भइसकेको छ भने अब प्रदेश-१ को मात्रै नामाकरण बाँकी छ ।

विभागले वाग्मती प्रदेशको ललितपुर एकान्तकुना, काठमाण्डौको गुर्जुधारा र गण्डकी प्रदेशको पोखराबाट इम्बोस्ड नम्बर प्लेट वितरण गर्न आवश्यक पूर्वाधारको व्यवस्थापन भइसकेको जनाएको छ । तर सङ्घीय कानुन अनुसार अहिलेसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी व्यवस्था र निर्णय कार्यान्वयन नभएकोमा विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयन भए/नभएकोबारे आउँदो साउन १ गतेपछि अनुगमन गर्ने विभागको तयारी छ । अनुगमनमा तोकिएअनुसार इम्बोस्ड नम्बर प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने पनि विभागले जनाएको छ । २०७३ सालदेखि इम्बोस्ड नम्बर प्लेट जडान थालिएको थियो ।

सरकारले पाँच वर्षमा २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको भए पनि चालु आर्थिक बर्ष ०७८/७९ को फागुनसम्ममा आठ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।

गएको फागुन १ गतेदेखि गाडीको नामसारी गर्दा र जेठ १ गतेदेखि दर्ता प्रमाणपत्र नवीकरण गर्दा सार्वजनिक, पर्यटक, निजी, सरकारी र संस्थानका गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिएको थियो । सरकारले इम्बोस्ड नम्बर जडानका लागि दुई पाङ्ग्रेका लागि २ हजार ६ सय र ट्रकजस्ता ठूला गाडीमा ३ हजार ६ सय रुपैयाँ शुल्क तोकेको छ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया