इतिहास बने परदेशीका माया बोक्ने पत्रहरू

 जेठ २२, २०७९ आइतबार १७:३३:५९ | नारायण कोइराला
unn.prixa.net

अहिलेको युग प्रविधिको युग हो । जुनसुकै कुनामा बसेर पनि संसारसँग जोडिन सकिन्छ । यो प्रविधि परदेशीका लागि त वरदान हो  । हाम्रो देशमा विकासको गति जति ढिलो छ त्यो भन्दा दुई गुणा बढी सञ्चार प्रविधिको विकास छ । 

आज एउटा परिवारमा एउटा फोन मात्र होइन प्रत्येक परिवारका सदस्यकाे हात हातमा मोबाइल फोन छ । बुवा आमा, छोराछोरी, हजुरबुवा हजुरआमा प्राय फोन नहुने परिवारका सदस्य छैनन् । अहिले यो आवश्यकता पनि भएको छ । तर अलि अलि चाहिँ फेसन जस्तो पनि । 

यसको पछाडिको एउटा कारण वैदेशिक रोजगारीसँग पनि जोडिएको छ । आफन्त विदेशमा छन् भने आजकाल उपहार भनेकै मोबाइल भएको छ । 

एउटा मोबाइल त ल्याइदिएस् है भनेर मुखै फोरेर  श्रमिकसँग माग्ने चलन छ । तर एउटा फोन मरुभूमिमा खजुर फलेझैँ फल्दैन भन्ने कुरा एउटा श्रमिकलाई मात्र थाहा छ । 

आजभन्दा करिब डेढ दशक अघिको दिनहरू सम्झँदा मलाई अचम्म लाग्छ । त्यो बेला यूएई जाँदाका दिनहरू अर्कै थियो । 

घरपरिवारसँग सम्पर्क गर्न त्यति सजिलो थिएन । त्यो बेला अहिलेजस्तो सबैको हातमा मोबाइल हुन त असम्भव जस्तै थियो । भर्खर परदेशी भूमिमा पाइला टेकेको थिएँ । मोबाइल किन्न सक्नु त परको कुरा थियो ।

कमाइ नै एकदम थोरै हुन्थ्यो । त्यो कमाइ कहाँ कसरी प्रयोग गर्ने निश्चित जस्तै थियो । अनि मोबाइल किन्ने सपना देख्नु पनि ठुलो थियो । 

यता घरमा त झन् मोबाइल हुने कुरै भएन । गाउँमा एका दुई घरमा ल्याण्डलाइन फोनहरू आउन थालेको थियो । त्यो पनि सम्पत्ति हुनेहरूको घरमा । हामीजस्तो श्रमिकले त फोन छुन पाउनु पनि भाग्यकै कुरो थियो । 

त्यो बेलामा  घरमा फोन राख्नु भनेको गाउँकै सञ्चार केन्द्र बन्नुजस्तै थियो । 

बाध्यताले घर परिवार र देशै छाडेर परदेशीएको एक श्रमिकलाई पर्नु मर्का परेको थियो । आँखाभरि घरपरिवारकै याद हुन्थ्यो । न मन लागेको बेलामा अहिलेजस्तो बोल्न पाइन्थ्यो न त भिडियोमा हेर्न । सन्चै छ भन्ने खबर सुन्न तड्पिरहन्थ्यो मन ।

साथमा मोबाइल नभए पनि ठाउँ ठाउँमा ल्याण्डलाइन बुथको व्यवस्था थियो । तर त्यसको प्रयोग गरेर घरमा सम्पर्क गर्न पनि सहज थिएन । 

कमाउन गएको मानिसको मन जति जले पनि पहिलो प्राथमिकता काम र कमाइ हुन्थ्यो । फुर्सदको समयमा गाउँमा यसो कल गरौंन त भन्दा पनि समयको फरकले अर्को समस्या हुन्थ्यो । बिहान काममा जान हतार हुन्थ्यो । फर्कँदा मध्यरात । अनि कुन बेला फोन गर्नु ? मन खिन्न हुन्थ्यो । प्रतीक्षा बिदाको दिनको हुन्थ्यो । आफ्नो बिदाको दिनमा पनि घरमा फोन गर्न निकै अप्ठेरो थियो । 

विदेशमा बुथमा लामो लाइन नभए पनि मुख्य समस्या नेपालमा थियो । गाउँ भरिका मानिसको फोन आउने ठाउँ एउटै भएकोले फोन त व्यस्त मात्र हुन्थ्यो । फोन लगाउनै निकै कष्ट पथ्र्यों । गाउँमा फोन राख्ने मान्छेलाई पनि आफ्नै समस्या थियो ।

एक दुई जनाको आउने भए पो सामान्य हुन्थ्यो, पुरै गाउँ टोल कै फोन आएको छ भन्दै बताउनु उनीहरूको १२ घण्टे ड्युटी जतिकै हुन्थ्यो । कसरी पो बोलाइदेलान्, आफूलाई भन्न पनि अप्ठेरो लाग्थ्यो । बल्ल बल्ल घरमा बोल्न पाइन्छ कि भनेर खुसी भएको मन पनि निराश हुन्थ्यो कति पटक त ।

यस्तो बेलामा मनको भाव पोख्ने एउटै माध्यम भनेको पत्राचार थियो । परदेशको व्यस्त जीवनमा थकित शरीरसँग लड्दै पत्र लेख्नु पनि आफैमा खुसीको कुरो हुन्थ्यो । त्यो बेला लेखिने पत्रमा आजभोलि फोनमा गरिने जस्तो अनावश्यक कुरा हुँदैन थियो । माया ममताले भरपुर ती पत्र लेख्दा समय कटेको पत्तो हुँदैन थियो । 

कतिपय साथीहरूमा हाँसो ठट्टा पनि चल्थ्यो । त्यो बेलाको जस्तो रमाइलो पलहरू आजकाल कहाँ भेटिन्छ र । पत्र पठाएपछि पुग्यो होला कि नाइँ भनेर मनमा खुल्दुली रहन्थ्यो । संयोगले ल्याण्डलाइन फोनमा दुईचार कुरा भयो भने सबै कुरा पत्रमा छ भनिन्थ्यो । फोनमा लामो समय बोल्न पनि पैसाले कहाँ पुग्थ्यो र । मनको कुरा पत्रमा पोख्नु नै उपयुक्त विकल्प हुन्थ्यो । 

त्यो दिनहरू आज सम्झँदा नि ओठमा मुस्कान छाउँछ । त्यो बेला न कुनै बहस हुन्थ्यो न  त तँछाडमछाड । बस माया हुन्थ्यो । अहिले त एक मिनेट फुर्सद हुँदा पनि फोनमै झुन्डिने अवस्था छ । अडियो मात्र नभएर भिडियो मै हेर्न पाइन्छ । 

तर तुलनात्मक रूपमा हेर्दा पहिलाको र अहिलेको अवस्थामा ठुलो भिन्नता छ । त्यति बेला सम्पर्क नभएर चिन्ताले पिरोलेको हुन्थ्यो भने अहिले हुने दैनिक सम्पर्कले पनि कतिको मन छुटेका छन् । त्यति बेला श्रमिकले गर्ने ‘एयर मेल’ त अब इतिहास भइसकेको छ । तर आज पनि त्यो दिनहरू हामीजस्ताको सम्झनामा ताजै छ ।

अन्तिम अपडेट: असार १०, २०७९

तपाईको प्रतिक्रिया