'बजारमा चिनीको अभाव छैन, एकै पटक धेरै किनेर नथुपाराैँ'

 जेठ २४, २०७९ मंगलबार ८:११:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बजारमा चिनीको अभाव नभएको सरकारले जनाएको छ ।

नेपालमा चिनीको मौज्दात पर्याप्त  भएकाले बजारमा हल्ला चलेजस्तो अभाव नभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो । उहाँका अनुसार  भारतले चिनी निर्यातमा रोक लगाएको अवस्थामा आवश्यक परेमा अरु देशबाट चिनी आयात गर्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

तत्कालको लागि अभाव नहुने भन्दै उहाँले एकै पटक धेरै किनेर नथुपार्न उपभोक्तालाई आग्रह समेत गर्नुभएको छ ।  भारतले निर्यातमा रोक लगायो  भनेर केही साना व्यापारीले कृत्रिम  अभाव सिर्जना गरेकाले  उपभोक्ताले गुनासो गरेको हुनसक्ने भन्दै मन्त्रालय अन्तर्गतकाे विभागले त्यसको अनुगमन थालिसकेको बताउनुभयो । कसैले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने गरेको पाइएमा कडा  कारबाही हुने उहाँको भनाइ छ ।

तत्कालको लागि चिनीको अभाव नभएको र अभाव हुने अवस्था आएमा भारतबाहेकका अरु देशसँग पनि सहकार्य गर्ने उहाँले बताउनुभयो । भारतले अगस्ट महिनासम्म निर्यातमा रोक लगाए पनि उसले बाहिरी देशबाट कच्चा पदार्थ किनेर ल्याएर बिक्री गर्न सक्ने सम्भावना रहने भएकाले आत्तिनु पर्ने अवस्था नभएको उहाँको भनाइ छ ।  

यस्तै भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपालकै कतिपय उद्योगीले किलोमा १० देखि १५ रुपैयाँ धेरै लिने गरेको गुनासो पनि आएको भन्दै त्यस्ता व्यापारीलाई कानुन अनुसार कारबाही हुने उहाँले बताउनुभयो ।  

बजारमा चिनीको अभाव हुन थालेको उपभोक्ताले गुनासो गरेका छन् । नेपालको आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपाल भारतलगायतका  विभिन्न देशमा चिनीमा परनिर्भर छ  । भारतले गएको बुधवारदेखि कार्यान्वयनमा आउने गरी चार महिनाका लागि चिनी निर्यातमा रोक लगाएको छ ।  सरकारले भारत बाहेकका अरु देशसँग चिनी ल्याउनका लागि अहिलेसम्म खासै पहल गर्न  थालेको छैन ।  

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया