बर्दियाको मधुवनमा गोली चलाउने आदेश थिएन, गल्ती गरेको पाइए कारबाही हुन्छ : गृहमन्त्री खाण

 जेठ २४, २०७९ मंगलबार १३:५९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा प्रमुख जिल्ला अधिकारीले गोली चलाउन आदेश नदिएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आज मङ्गलवारकाे बैठकमा सांसदले बर्दियाको मधुवनमा प्रहरीको गोली लागेर युवतीको ज्यान गएको विषयमा सरकारको जवाफ मागेपछि उत्तर दिँदै गृहमन्त्री खाणले नागरिकले गर्ने अवरोध तथा भिडमा गोली चलाउन सरकारले आदेश नदिने बताउनुभयो । ‘नागरिकहरूको यस्तो अवरोध, भिडमा गोली चलाउने आदेश छँदै छैन । नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनअनुसार सम्झाइबुझाइ गर्ने, बरु सर्वपक्षीय/सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने र कम भन्दा कम शक्ति प्रयोग गर्ने भन्ने हो । गोली प्रहार गर्ने त आदेशै छैन’, उहाँले भन्नुभयो ।

बर्दियाको मधुवनमा प्रहरीको गोली लागेर युवतीको ज्यान गएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको मन्त्री खाणले जानकारी दिनुभयो । छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही हुने उहाँकाे भनाइ छ । मृतकलाई राहत, घाइतेको उपचार, वन्यजन्तुको आक्रमण घटाउन अपनाइने उपाय लगायतका विषयमा सरकार प्रतिबद्ध रहेको खाणको भनाइ छ ।

हिजो साेमवार मधुवनमा बाघको आक्रमणबाट एक जना घाइते भएपछि स्थानीयवासीले वन्यजन्तु नियन्त्रण गर्न माग गर्दै गुलरिया–राजापुर अवरोध गरेका थिए । स्थानीयवासीको प्रदर्शनकै क्रममा प्रहरीले गोली चलाउँदा १८ वर्षीया नविना चौधरीको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मधुवन क्षेत्र अहिले पनि अशान्त रहेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया