साउन १ गतेभित्र २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्ने भनेका छैनाैँ : विभाग

 जेठ २४, २०७९ मंगलबार १६:३६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको स्पष्ट पारेको छ । आज मङ्गलवार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना ननिकालेकाे बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिकाअनुसार सूचना प्रकाशित गरेको बताउनुभयो । उहाँले २०७८ मङ्सिर १ गतेदेखि नयाँ दर्ता हुने, फागुन १ गतेदेखि नामसारी भएर आउने नयाँ र २०७९ जेठ १ गतेदेखि नवीकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएअनुसार जडान भए/नभएको अनुगमन गर्ने सूचना आएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयाे, ‘बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गतेभित्र २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न भनेकाे छैन । यसअघि २०७८ साल कात्तिक २२ गते राजपत्रमा प्रकाशित सूचनामा तत्कालीन अवस्थामा नाम तोकिएका पाँच वटा प्रदेशमा २०७८ मङ्सिर १ गतेदेखि नयाँ दर्ता हुने गाडीहरूमा इम्बोस्ड नम्बर प्रयोग गर्ने भनिएअनुसार विभाग अघि बढेको हाे । इम्बोस्ड नम्बर प्लेट नियमित कार्यतालिकाअनुसार जसका लागि अनिवार्य गरिएको थियो, उनीहरूले जडान गरेका छन् वा छैनन् भन्ने कुरा विभागले अनुगमन गर्छ, साउन १ गतेभित्रमा सबै २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भन्ने सूचना गलत हाे ।’ 

त्यस्तै उहाँले इम्बोस्ड नम्बर प्लेट जडानका लागि विभागले सम्पूर्ण पूर्वाधार तयारी पारेको जिकिर गर्नुभयो । महानिर्देशक घिमिरेले मुख्य पूर्वाधार भनेको नम्बर प्लेट उत्पादन, उत्पादनको काम र जडान गर्न यातायात व्यवस्था कार्यालय वा जनशक्तिसमेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

महानिर्देशक घिमिरेले गण्डकी प्रदेश र बाग्मती प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडानको तयारी पूरा भइसकेकाले पछिल्लो सूचनामा यी दुई प्रदेशलाई जाेड दिइएकाे बताउनुभयो । उहाँले गण्डकी र बाग्मती प्रदेशमा चार पाङ्ग्रे वा त्याे भन्दा ठूला गाडी र गुर्जुधारामा दुई पाङ्ग्रे गाडीका लागि जडान तयारी पूरा भएको बताउनुभयो ।

उहाँका अनुसार अब छिट्टै नै लुम्बिनी प्रदेशमा बुटवलमा, बाग्मती प्रदेशको थप हेटौँडामा र अन्य प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवश्यकअनुसार विभागले पूर्वाधार तयार गरिरहेको बताउनुभयो । महानिर्देशक घिमिरेले गण्डकी र बाग्मती प्रदेशका सबै गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्ने सूचना गलत रहेको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया