‘शंकाले लागेको मेरो मनको आगो मनोपरामर्शले निभेको छ’

 जेठ २४, २०७९ मंगलबार १७:५:२९ | रामकुमार थापा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धादिङ – गएको दसैँताका नीलकण्ठ नगरपालिकाकी दिलमायालाई यूएईबाट श्रीमानले मोबाइल पठाउने भए ।

परदेशमा रहेका श्रीमानसँग बिहान बेलुका अनुहार हेरेरै बोल्न मिल्ने मोबाइल आउने भएपछि दिलमायाको दिल खुस भएको थियो । तर जब श्रीमानले पठाएको मोबाइल हातमा पर्‍यो । तब क्षणभर मै दिलमायाको खुसी आशुमा परिणत भयो । 

मोबाइल हातमा परेपछि श्रीमानसँग भिडियो कलमा टन्नै बात मार्ने दिलमायाको सपना मनमनै रह्यो । 

२०७० साल माघ महिनामा दुबई जानुभएको थियो दिलमायाका श्रीमान् राजु । भौतिक दुरीलाई कम गर्ने माध्यम मोबाइल नै थियो । तर त्यही मोबाइलले दिलमायाको मन सिसा सरी टुट्यो । 

‘भिडियोमा कुरा गर्नका लागि भनेर दसैँताका नेपाल आउने साथीको साथमा मोबाइल पठाउनुभएको थियो’ दिलमाया भन्नुहुन्छ ‘त्यो मोबाइल पठाउने खबर सुनेको दिनदेखि म कति खुसी थिएँ, बरु त्यो मोबाइल बाटोमै हराएको भए पनि मोबाइल हराउँथ्यो, मेरो मन त दुख्ने थिएन नि ।’ 

मोबाइलकै कारणले एक पटक त दिलमायाको मन श्रीमान् प्रति मर्‍यो । भौतिक दुरी घटाउन पठाएको मोबाइलले श्रीमान् श्रीमतीबीच मनको दूरी बढाइदियो । तर मोबाइलले बढाएको दिलमाया र राजको मनको दूरीलाई मेटाउन मनोपरामर्शले मद्दत गर्‍यो ।

प्रेम र विवाह

दिलमाया झापामा दिदीको होटलमा काम गर्नुहुन्थ्यो । दिलमायाका श्रीमान् राज त्यो बेला ट्रक चलाउनुहुन्थ्यो । दिदीको होटलमा खाना खान ट्रक रोक्ने राजसँग दिलमायाको दिल बस्यो । ‘उहाँ नियमित होटलमा खान खान आउनुहुन्थ्यो, देखिरहँदा, भेटिरहँदा हामीले एक अर्कालाई मन परायौँ, अनि भागेरै बिहे गरियो’ दिलमाया सुनाउनुहुन्छ । 

ज्यान टाढा भए पनि राज र दिलमायाको मनको दुरी कहिले टाढा भएन ।

मायालाई उमेरले छेकेन । मन नजिकिएपछि भौगोलिक दूरीले पनि छेकेन । २०६५ सालमा सँगै मर्ने सँगै बाँच्ने कसम खाएर राजसँग झापाबाट धादिङ भागेर आउँदा दिलमायाको उमेर १६ वर्षको थियो । 

‘मेरो लागि त संसारको उज्यालो नै उहाँ हुनुहुन्थ्यो, तर कहिलेकाहीँ आफ्नै मनले पनि धोका दिँदो रहेछ’ दिलमाया भन्नुहुन्छ ।

बिहे भएको पाँच वर्ष पछि २०७० सालमा राज रोजगारीका लागि यूएई लाग्नुभयो । ज्यान टाढा भए पनि राज र दिलमायाको मनको दुरी कहिले टाढा भएन । बिदा हुँदा राज नेपाल आइहाल्नुहुन्थ्यो । दिनमा दुई पटक फोनमा कुराकानी हुन्थ्यो । तलब हातमा पर्नासाथ राजले दिलमायाको नाममा मासिक ५० हजार रुपैयाँ पठाउनुहुन्थ्यो । 

मोबाइलले बढाएको दुरी

भिडियोमा कुराकानी गर्न भनेर २०७८ सालको असोजमा दिलमायालाई राजले मोबाइल पठाइदिनुभयो । मोबाइल नयाँ थिएन । केही समय राजले आफूले चलाएको मोबाइल दिलमायालाई पठाउनुभएको थियो । 

‘मोबाइल हातमा पर्‍यो, यसो चलाउँदा त उहाँले अरूसँग गर्ने कुराकानी र फोटोहरू सबै रहेछ फोनमा’ दिलमाया त्यो क्षण सम्झँदै भन्नुहुन्छ ‘अरू केटीहरूसँग बोल्ने भेट्ने गरेको कुराहरू देखेपछि मलाई त एक छिन् त सपनाजस्तै लाग्यो, तर वास्तविकता त मेरै आँखा अघिल्तिर थियो ।’

आफूले सबैभन्दा बढी  विश्वास गरेको मानिसले अरू केटीसँग बोलेको र फोटोहरू आदानप्रदान गरेको देखेपछि दिलमायाको मन भाँचियो । 

दिलमायाका अनुसार राजले पठाएको मोबाइलमा म्यासेन्जरमार्फत आईलभयू लेखेर अन्य केटीलाई पठाएको म्यासेज, भाइवरमा महिलासँग भेट्ने र कुराकानी गर्ने गरेको प्रमाण र सँगै होटलमा बसेर खाएको फोटोहरू पनि थियो । 

भन्नुहुन्छ ‘मेरो लागि त संसारमा विश्वास गर्न लायक कुरा केही बाँकी नै रहेन, म के गरौँ भन्ने बाटो नै भेटिनँ त्यो बेलामा, मोबाइल फुटाइदिन मन लागेको थियो ।’

त्यसपछि दिलमायाको मनमा अनेक कुरा खेल्न थाले । ‘श्रीमानले अब अरू नै केटी लिएर बस्छन् होला, म यहाँ के गर्ने, छोराछोरी कसरी पढाउने, ऋण कसरी तिर्नेजस्ता कुरा मात्र आउन थाल्यो मनमा’ दिलमाया त्यो बेलाको अनुभव सुनाउनुहुन्छ ।

त्यसपछि उहाँको समस्या बारेमा बुझ्न मनोपरामर्शकर्ताले घरैमा गएर भेट्नुभयो । घरमा गएर कुरा बुझ्दा दिलमाया रात भरी निदाउन छाडेको दुई महिना भएको रहेछ । 

फोनमा कुराकानी हुँदा पनि श्रीमान् श्रीमतीबीच त्यही मोबाइलकै विषयमा झगडा पर्न थाल्यो । एक आपसमा घण्टौँ मोबाइलमा बाझा बाझ चल्न थाल्यो । रुवाबासीमै सकिन थाल्यो हरेक फोन कल । 

फोनमा राजले विश्वास दिलाउन त खोज्नुभयो । तर दिलमायाको मन मानेन । दिलमाया रुने, घरको कामहरू नगर्ने, बालबच्चाको पनि रेखदेख नगर्ने गर्न थाल्नुभयो । 

बिस्तारै श्रीमान् श्रीमतीबीचमा फोनमा कुराकानी हुनै छाड्यो । कहिले काहीँ हुने कुराकानी पनि झगडा गर्दैमा सकिन्थ्यो ।  राज र दिलमायाको सम्बन्ध झन् झन् बिग्रँदो थियो । श्रीमानकै चिन्ताले दिलमायालाई मनोसामाजिक समस्या सुरु भयो । 

मनोपरामर्शकर्तासँगको भेट

२०७८ सालको पुसमा उहाँको गाउँमा सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षा सञ्चालन भयो । परदेशमा श्रीमान् भएकाले दिलमाया पनि कक्षामा सहभागी हुनुभयो र उहाँको भेट मनोपरामर्शकर्तासँग भयो । 

कक्षामा सहभागी हुँदा दिलमाया दुःखी र चिन्तित  देखिनुहुन्थ्यो । पाँचौँ कक्षामा बालबालिकाको भविष्य सम्बन्धी विषयमा कक्षा चलिरहेका बेला दिलमाया एक्कासि रुनुभयो । 

त्यसपछि उहाँको समस्या बारेमा बुझ्न मनोपरामर्शकर्ताले घरैमा गएर भेट्नुभयो । घरमा गएर कुरा बुझ्दा दिलमाया रात भरी निदाउन छाडेको दुई महिना भएको रहेछ । 

दिलमायाको दिलको कुरा थाहा पाएपछि उहाँको समस्या सम्बोधनका लागि नियमित भेटघाट र विभिन्न सेसनहरू सञ्चालन भयो । 

‘जब मनोपरामर्शकर्ताले मेरो मनको कुरा सुन्ने र यस्तो बेलामा के कसरी आफूलाई सम्हाल्ने भन्ने कुराहरू सिकाएपछि मलाई मनमा अलिक हलुका महसुस हुन थाल्यो’ दिलमाया भन्नुहुन्छ ‘अर्को महिलासँग कुराकानी गरेको देखेपछि मलाई मनमनै शंकाले धेरै गलाएको रहेछ भन्ने महसुस नि भयो ।’

यहीबीचमा आफ्नो बिग्रिएको सम्बन्ध जोड्नकै लागि भनेर राज पनि २०७८ सालको माघमा घर आउनुभयो । राज पनि नेपाल आएपछि परियोजनामार्फत मनोपरामर्शकर्ताले श्रीमान् श्रीमती दुवैलाई बेग्ला बेग्लै मनोपरामर्श प्रदान गर्नुभयो । 

राज र दिलमायालाई छुट्टा छुट्टै र परिवारसँगै पनि राखेर पारिवारिक मनोपरामर्श सेसन पनि सञ्चालन भयो । परामर्शको क्रममा राजले आफ्नो परिवारको अथाह माया हुँदाहुँदै पनि आफूले परदेशी भूमिमा मन भुलाउनका लागि गल्ती गरेको स्वीकार गर्नुभयो । 

भन्नुहुन्छ ‘शंकाले लागेको मेरो मनको आगो मनोपरामर्शले निभेको छ ।’

‘मलाई परिवारको माया नभएको हैन, परिवारलाई दुःख दिन्छु भनेर पनि होइन, तर के भयो भयो अब आइन्दा यस्तो गर्दिन ’ राज आफूले गरेको गल्ती स्विकार्दै भन्नुहुन्छ ‘मलाई उनको मन दुखाएको निकै पछुतो छ आज पनि, मैले उनलाई धोका दिन काम गरेको थिइनँ ।’

राजले आफ्नो गल्ती स्वीकार गर्दै अब फेरि यस्ता गल्ती नगर्ने बाचा गरेपछि छोराछोरीको मुख हेरेरै भए पनि दिलमायाले राजलाई माफ गरिदिनुभयो । 

‘आफूले त्यस्तो माया गरेको मानिसले अरू केटीसँग हिँडेको, खाएको, माया गरेको देख्दा मन नमरेको त हैन, तर शंकाले लंका जलाउँछ भन्थेँ, मेरो घर जल्यो, अब भने मैले पनि कुरा बुझ्न पर्छ जस्तो लाग्यो’ दिलमाया भन्नुहुन्छ ‘परामर्शअघिसम्म मैले त्यही कुरालाई अर्कै तरिकाले सोच्थेँ तर अहिले त्यस्तो लाग्दैन ।’

मोबाइल फोनले बढाएको मनको दुरीलाई मेटेर राज अहिले यूएई फर्कनुभएको छ । घरमा दुई छोरी एक छोरा र दिलमाया हुनुहुन्छ । 

भन्नुहुन्छ ‘शंकाले लागेको मेरो मनको आगो मनोपरामर्शले निभेको छ ।’

(नोट : व्यक्तिगत परिचय गोप्य राखिएको छ ।)

अन्तिम अपडेट: असार ३१, २०७९

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया