‘फेरि यस्तो गीत गाइँदैन, बाटामा फोहर फाल्न पाइँदैन’

 जेठ २७, २०७९ शुक्रबार १३:३०:५६ | सुजता सुनुवार
unn.prixa.net

फेरि यस्तो गीत गाइँदैन 
बाटामा फोहर फाल्नलाई पाइँदैन 
फूल्योे जमुना 
मिलेर बनाउँ है योे गाउँलाई नमुना ....
प्लाष्टिक त कहिले नि कुहिँदैन 
ट्वाइलेट खुल्ला राख्नलाई पाइँदैन 
फूल्योे जमुना 
मिलेर बनाउँ है योे गाउँलाई नमुना.....

यो बजारमा आएको नयाँ गीत होइन । भक्तपुरको चाँगुनारायण नगरपालिका सुन्दरथली टोलका बासिन्दाले फोहर व्यवस्थापन गर्दा गुन्गुनाउने भाका हो । चाँगुनारायण नगरपालिका वडा नम्बर ३ को सुन्दरथली टोल साँच्चै नै सुन्दर छ । यहाँ यो गीतको भाका गुञ्जन थालेको साढे दुई वर्ष भइसक्यो । हरेक महिना बस्तीमा यसैगरी गीतको भाकामा सरसफाइ गरिन्छ ।

यहाँका बासिन्दा यस टोललाई सफा र सुन्दरताको नमुना बस्ती बनाउन चाहन्छन् । उनीहरु हरेक महिना सडक, मन्दिर, सार्वजनिक ठाउँ सफा गर्छन् । नगरपालिका अन्तर्गतको पूर्ण सरसफाइ कार्यक्रमकी सहजकर्ता इन्द्रावती अर्यालको सहयोेगमा ‘सुन्दरथली टोलस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति’ गठन भयोे ।

समितिकी सदस्य लक्ष्मी भुजेल भन्नुहुन्छ, ‘समिति गठनपछि नै फोहर व्यवस्थापनको सन्देश गीतको भाकामा दिँदै हिँड्न थालेका हौँ, समितिमा गाउँका नौ जना छौँ ।’ समन्वय समितिको मातहतमा गोदावरी, मखमली र सयपत्री नाम गरेका तीन उपसमिति छन् ।

सडक सफा अनि चिटिक्कको छ । सडकको भित्तो र छेउतिरको भागमा विभिन्न जातका विरुवा हुर्केका छन् । सफा घर मात्रै होइन, आँगनमा स–साना फूलबारी पनि छन् । बारीभरी लटरम्मै फलेका मौसमी तरकारी खेती छ । यसले पनि सुन्दरथलीको सौन्दर्यलाई थप निखार बनाएको छ । सडकमा तेजपात, टिम्मुर, धुपी, रुदाक्ष, अम्बा, चाँप पारिजातलगायतका विरुवा रोपिएका छन्। 

साढे दुई लाख रुपैयाँ बराबरको विरुवा ४ सय ६५ मिटर (लम्बाइ) सम्मको सडकमा रोपिएका छन् । यी विरुवा समाजसेवी जितेन्द्रकुमार बाखुले टोलका लागि निःशुल्क उपलब्ध गराउनु भएको हो। समितिका सल्लाहकार रामबहादुर श्रेष्ठ खुशी हुँदै भन्नुहुन्छ, ‘घर–घरबाट जागरुक भए सबैको सहयोेग पाइँदो रहेछ, नगर्नेका लागि मात्रै सहयोेग नै छैन भन्ने हुँदो रहेछ ।’ आफ्नो बस्ती सफा गर्न आफैँ जागरुक भएपछि क्रमशः सबैको सहयोेग पाउन थालेको सुन्दरथली टोलका बासिन्दाहरु बताउँछन् ।  

टोललाई नमुना बस्ती बनाउन सडकको छेऊ–छेऊमा मात्रै होइन एक घर दुई विरुवा अभियान पनि सञ्चालन भएको छ । यस अभियान अन्तर्गत प्रत्येक घरमा निःशुल्क दुई–दुई वटा विरुवा वितरण गरिएको छ । 

समितिले वातावरण मात्रै होइन घर र व्यक्तिगत सरसफाइमा ध्यान दिन पनि जागरुक बनाउने काम गर्छ । यस्ता सरसफाइमा सुरक्षित मलखादको व्यवस्था, व्यवस्थित भान्साघर, सफा शौचालय, भान्साबाट निस्किएका फाेहर पानी बाहिर जान नदिन सो–पिटको व्यवस्था गर्न सिकाइन्छ । यस्तै स्वच्छ खानेपानीको व्यवस्था गर्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गर्ने गरिन्छ । 

नगरपालिकाको टोल स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (वास) सहजकर्ता इन्द्रावती अर्याल भन्नुहुन्छ, ‘बानीमा परिवर्तन गर्न सुरु–सुरुमा गाह्रो भयोे, तर अहिले भने सबै सचेत हुनुहुन्छ, भनिरहनु पर्दैन सबै आफैँ गर्न थाल्नु भएको छ । जनचेतना जगाउने शैली पृथक भएर पनि होला यस टोलका बासिन्दाको बानीलाई परिवर्तन गर्न धेरै समय नलागेको समितिका पदाधिकारीहरु बताउँछन् । 

सबैको बानीमा परिवर्तन आएको छ 

चाँगुनारायणको सुन्दरथली टोलमा सरसफाइ अभियान कार्यक्रम सञ्चालन भएपछि बानीमा परिवर्तन आएको टोलबासी बताउँछन् । फोहर वर्गीकरण गर्नुपर्छ, पानी उमालेर मात्रै पिउनुपर्छ, शौचालय प्रयोेगका लागि अलग्गै चप्पल हुनु पर्छ भन्ने यस्ता ज्ञानबारे जानकार हुँदाहुँदै पनि चिसै पानी घटघटी पिउने, अनि शौचालयका लागि अलग्गै चप्पल नराख्ने बानी धेरैमा हुन्छ । तर नमुना बस्ती बनाउन एकजुट भएका सुन्दरथली टोलका बासिन्दाले भने यस्ता व्यावहारिक बानीलाई परिवर्तन गरेका छन् । परिवर्तन मात्रै होइन लागू पनि गरेका छन् । 

स्थानीय इन्द्रलाल पुत्त भन्नुहुन्छ, ‘कुहिने फोहर घरमा नै र नकुहिने फोहर गाडीमा पठाउन थालेका छौँ, शौचालयको ढोका बन्द गर्ने र मलखादको ढकनी छोप्ने अनि पानी उमालेर मात्र पिउने बानीको विकास भएको छ ।’ यस्तै मिना भुजेल पनि आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, ‘इनारकै पानी पिउने हो, तर तताउन नभ्याए फिल्टर गरेर पिउने बानी परेको छ ।’ 

नमुना बस्ती बनाउन समाजसेवी, वडाकार्यालय र नगरपालिकाबाट पनि हौसला र सहयोग मिलेको छ । पहिले प्लाष्टिक जम्मा गर्ने र जलाउने गरिन्थ्योे अहिले जम्मा गरेर गाडीलाई पठाउने गरिन्छ । बाटैमा दिसा देखिन्थे, प्लाष्टिक भेटिन्थे तर अहिले भने टोल नै सफा छ । पूर्व वडासदस्य प्रेमबहादुर बाखु भन्नुहुन्छ, ‘सुन्दरथलीलाई झनै सुन्दर बनाउने अभियानमा जुटेका छौँ, सबैसँग साथको अपेक्षा पनि छ ।’

सरसफाइ अभियानमा २० रुपैयाँ सहयोेग गर्नेको सङ्ख्या बढ्दै 

बोलेर जनचेतना जगाउनु भन्दा गीतका भाकामा लयबद्ध गरेर जनचेतना जगाउन सजिलो मात्रै होइन प्रभावकारी र छिट्टै सफल भइन्छ भन्ने कुराको उदाहरण हो, सुन्दरथली । सरसफाइ अभियानमा सहयोेगी हातहरु थपिँदै जानु पनि यसको प्रभावकारिता हो । १ सय ७२ घरधुरी रहेको सुन्दरथली टोलमा सयपत्री उपसमितिमा ६० घरधुरी पर्छन् । 

फोहरमैला व्यवस्थापनका लागि भने फोहर लिन आउने गाडीलाई भिन्नै २ सय ५० रुपैयाँ समेत दिँदै आएका छन् । नमुना बस्तीका लागि उठाइँदै आएको रकमले भने सडक बत्ती बिग्रेमा, खानेपानीको नाला बिग्रेमा र डस्बिन किन्न परेमा लगानी गर्ने गरिन्छ । 

७ घरधुरीबाट सुरु भएको २० रुपैयाँ सहयोेग उठाउने अभियानमा अहिले ३५ घरधुरी पुगेका छन् । अन्य घरधुरीलाई पनि यस अभियानमा सहभागी गराउने उपसमितिको लक्ष्य छ । अहिले पनि उपसमिति यसैको कसरतमा छ । सहयोेग उठेका रकम बहुमुखी सहकारी सल्लाघारीमा बचत गर्ने गरिन्छ । अहिले ६ हजार रुपैयाँ जम्मा भइसकेको छ । 

कोरोनाका कारण बन्द भएको अभियान फेरि सुरु 

टोललाई सफा राखेर नमुना बस्ती बनाउन २०७६ सालदेखि प्रतिघरधुरी २० रुपैयाँ उठाउन सुरु गरिएको हो । छ महिना पुग्दै गर्दा कोरोना महामारीका कारण अभियान नै स्थगित भयो । अहिले अवस्था सामान्य भएको छ । ‘सुन्दरथली टोल स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति’ का अध्यक्ष प्रेम बहादुर पुन आफ्ना खुशी सुनाउँदै भन्नुहुन्छ, ‘योे अभियान २०७९ को जेठदेखि पुनः सुरु गरेका छौँ ।’ 

सफा र स्वच्छ क्षेत्र घोषणाको अन्तिम चरणमा 

चाँगुनारायण नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख नगर बनाउन दुई चरणमा काम भइरहेको छ । पहिलो सफा र स्वच्छ क्षेत्र घोषणा र दोस्रो पूर्ण सरसफाइ उन्मुख नगर घोषणा गर्ने, सफा र स्वच्छ क्षेत्र घोषणाको काम भने अन्तिम चरणमा पुगेको नगरपालिकाका खानेपानी, सरसफाइ र स्वच्छता (वास) संयोेजक सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘पहिलो चरणमा योेजना तर्जुमा र व्यवस्थापनका पक्ष पर्छन्, यसमा समूचित चर्पीको प्रयोेग, सुरक्षित खाना र खानेपानीको प्रयोेग, व्यक्तिगत सरसफाइ अनि वातावरणीय सरसफाइका काम गर्ने गरिन्छ ।'

नगरपालिकाका ९ वटै वडामा टोलस्तरीय खानेपानी स्वच्छता समन्वय समिति गठन गरिएको छ । योे समितिले पूर्ण सरसफाइका सूचक पालना गराउन जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई २०७० साल कात्तिक ४ गते खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरिएको हो ।

खुल्ला दिसामुक्त नगरपालिका घोषणा गर्ने योे नगरपालिका नेपालको १०औँ स्थानमा पर्छ । अहिले भने पूर्ण सरसफाइ उन्मुख नगर घोषणाका लागि काम भइरहेको नगरपालिकाले जनाएको छ। 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • राम बहादुर श्रेष्ठ

    June 11, 2022, 9:20 p.m.

    सारै राम्रो

  •  0 Reply

तपाईको प्रतिक्रिया