मनसुनी वायु पश्चिमतिर सर्दै, आज पनि धेरै ठाउँमा पानी पर्ने

 जेठ २९, २०७९ आइतबार ८:४८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न लागेको मौसमविद्ले बताएका छन् । गएको आइतवार नेपालमा प्रदेश-१ हुँदै मनसुन भित्रिएको थियो ।

मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । मनसुन भित्रिए पछि प्रदेश-१, मधेस प्रदेश, वाग्मती  र गण्डकी प्रदेशमा लगातारजसो पानी परिरहेको छ ।

लगातारको वर्षाका कारण यी प्रदेशका ठाउँठाउँमा बाढी पहिरो जान थालेको छ । पहिरोले मुख्य राजमार्ग ठप्प हुँदा यात्रुले सास्ती  पाइरहेका छन् । अहिले पनि यी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार बिहान लुम्बिनी प्रदेशका एक/ दुई ठाउँमा पनि पानी परेको छ ।

अहिले पानी नपरेका ठाउँमा  दिउँसो पानी पर्ने अनुमान गरिएको छ । आज प्रदेश-१, मधेस प्रदेशका धेरै ठाउँ तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसमविद्को सुझाव छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया