मकवानपुरगढीको सामरी खोलामा भइरहेको दोहन रोकियो, उत्खननमा प्रयोग भएका एक्स्काभेटर निकालियो

 जेठ २९, २०७९ आइतबार १६:३६:३ | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने सामरी खोलामा भइरहेको दोहन आज आइतवार बिहानदेखि रोकिएको छ । गाउँपालिका कार्यालयका कर्मचारीको मिलेमतोमा सामरी खोलाको ठाउँ–ठाउँमा दोहन भइरहेको थियो । 

क्रसर उद्योगका तर्फबाट खोला उत्खनन गर्न प्रयोग भएका एक्स्काभेटर पनि निकालिएको छ । उज्यालो अनलाइनमा समाचार प्रकाशित भएपछि तीन दिनदेखिको खोला दोहन रोकिएको हो । गाउँपालिकाका लागि राजस्व सङ्कलन गर्ने उद्देश्यले उत्खनन गरिएको र आजदेखि काम रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो । असार नजिकिएसँगै बिहानको झिसमिसेदेखि बेलुकी अबेरसम्म खोला खन्न थालिएको थियो ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र ६ मा पर्ने सामरी खोलामा वर्षाैँदेखि नवीकरणसमेत नभएका क्रसर उद्योग र बालुवा उद्योगहरूले गएको वर्षकै ग्राभेल उत्खनन गरेको एक करोड रुपैयाँ बुझाउन बाँकी छ । पहिलेकै रकम बाँकी भइरहेको समयमा फेरि तिनै क्रसर उद्योगलाई पोस्ने गरी सामरी खोलामा बाढी आइरहेकै समयमा पनि एक्स्काभेटर लगाएर उत्खनन गरिएको विषयमा स्थानीयवासीले गुनासो गरेका थिए ।

पैसा नतिर्ने क्रसर उद्योगलाई फेरि पनि पोस्ने गरी गाउँपालिकाका राजस्व शाखाका कर्मचारीले सेटिङ गरेर फेरि पनि खोलाबाट ग्राभेल उत्खनन गर्न दिइएको थियो । समाचार प्रकाशित भएपछि चौतर्फी दबाबका कारण खोला उत्खननको काम रोकिएको हो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया