प्रधानमन्त्री देउवाकाे अमेरिका भ्रमणलाई शङ्काकाे दृष्टिले नहेरिदिनुस् : परराष्ट्रमन्त्री खड्का

 जेठ ३१, २०७९ मंगलबार १९:२८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई शङ्काको दृष्टिले नहेरिदिन आग्रह गर्नुभएको छ । 

आज मङ्गलवार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री खड्काले दुई पक्ष सम्बन्धलाई थप बलियाे बनाउन, आपसी सम्बन्धलाई गति प्रदान गर्न र सम्बन्धका नयाँ आयाम ल्याउनका लागि दुई देशको भ्रमण तथा छलफल अपरिहार्य रहेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय जगतमा नेपालको इन्गेजमेन्टलाई प्रभावकारी रूपमा अगाडि बढाउने काममा परराष्ट्र मन्त्रालय तल्लीन छ । यो महिनाको सुरुवातमा नेपालका प्रधानमन्त्रीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्नुभएको थियो । भ्रमणको अवसरका नेपाल–भारतबीच आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धका साथै दुई पक्ष सम्बन्धका विविध विषयमा छलफल भएको थियो । यस्तै चीनका परराष्ट्र मन्त्रीले नेपाल भ्रमण गर्नुभएको थियो । उच्च राजनीतिक तथा कुटनीतिक तहमा हुने भ्रमणको आदानप्रदानले दुई पक्ष सम्बन्धलाई थप बलियाे बनाउँछ । यस्ता भ्रमण तथा भेटघाटका विषयलाई शङ्काकाे दृष्टिले नहेर्न म आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको मन्त्री खड्काले बताउनुभयो । उहाँले नेपालको स्वाधीनता, स्वतन्त्रतालाई ध्यान दिएर भ्रमण हुने भन्दै सरकार सार्वभौमसत्ता, स्वाधीनताप्रति गम्भीर रहेको बताउनुभयो ।

मन्त्री खड्काले अमेरिकी जनरलको नेपाल भ्रमण 'स्टेट पार्टनरशिप प्रोग्राम' (एसपीपी) मा हस्ताक्षरका लागि नभएको बताउनुभयो । उहाँले जर्नेलको भ्रमणमा एसपीपीमा हस्ताक्षर अर्थात् अमेरिकी सैन्य गठबन्धन गर्ने विषय हल्ला मात्रै भएको दाबी गर्नुभयो । उहाँले पत्रपत्रिकामा आएको हल्लाको पछि नलाग्न सांसदहरूलाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया