व्यापारीका प्रतिनिधि राखेर, कमिसन खाएर बजेट बनाइयो : ओली

 असार २, २०७९ बिहिबार १७:४८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाउनुभएको छ । 

आज बिहीवार काठमाण्डौमा आयाेजित पालिका चुनावमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले बजेट बनाउँदा अनधिकृत व्यक्तिहरू राखेको, व्यापारीका प्रतिनिधि राखेर करका दर सेटिङमा राखेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘विश्वमा कतै नसुनेको, बजेट बनाउँदा बाहिरका अनधिकृत मान्छेहरू राखेर बजेट बनाइन्छ । दुनियाँमा कतै कल्पना गरिँदैन । बजेट अर्थमन्त्री, अर्थसचिव, राजश्व सचिव, आदिले तयार गर्छन् । त्यस ठाउँमा त्यस्ता मान्छेहरू बाहेक अरू नै प्रकारका मान्छेहरू अनधिकृत मान्छे ल्याएर करका दर सेटिङमा तोकिन्छ । व्यापारीसँग सेटिङ मिलाएर करका दर तोकिन्छ । कमिसन खाएर करका दर तोकिन्छ । यो त पञ्चायत कालमा पनि हुँदैन थियो ।’

अध्यक्ष ओलीले पार्टीका नेता घनश्याम भुसालप्रति लक्षित गर्दै कतिपय व्यक्तिहरू पार्टीले दिएको ओहोदा, सुविधाहरू उपभोग गरेर पार्टीकै अपमान, बेइज्ज्त गरिरहेका बताउनुभयो । केही समयअघि नेता भुसालले नेकपा एमाले पराजित हुनुको कारण पार्टी अध्यक्ष ओलीको कमजोरी र घमण्ड भएको प्रतिक्रिया दिनुभएको थियो । त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले पार्टीले दिएको हैसियतमा पार्टीको विरोध र पार्टी नेतृत्वलाई बदनाम गर्न तथा विस्थापित र धाँदली गर्न लागिपरेको बताउनुभयो । 

अध्यक्ष ओलीले एमसीसी पास भएपछि गठबन्धन सरकारले मौका छोपेर बाह्य सेना उपस्थित गराउने किसिमका गतिविधि गरिरहेको भन्दै नेकपा एमालेले त्यस्ता गतिविधि विरुद्धमा अगुवाइ गरिरहेको बताउनुभयो । उहाँले देशहितविरुद्धमा कुनै काम नहोस् भन्ने कुरामा पार्टी सजग रहेको भन्दै आउँदो प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारीमा लाग्न पनि निर्देशन दिनुभयो । 

अध्यक्ष ओलीले नाम हाईहाई हुने गरी र आलोचना सुन्ने नगरि काम गर्न पनि पालिकाका जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया