केपी ओलीले नै एसपीपी अगाडि बढाएकाे वामदेव गाैतमकाे दाबी

 असार ३, २०७९ शुक्रबार १४:५९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाका सांसद वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गर्नुभएको छ । 

सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजी गरेको र प्रधानमन्त्रीको रूपमा एमाले अध्यक्ष ओलीले नै त्याे प्रस्ताव अघि बढाएको पाइएको बताउनुभएको हो । गौतम कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्री हुनुहुन्थ्यो । 

उहाँले भन्नुभयो, ‘यसको सुरुवात जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष, त्यस बेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू त्यसमा संलग्न हुनुहुन्छ । अब सदनलाई साँचो कुरा बताउनुपर्दछ र सत्य बताउँदा कोही पनि सानो हुँदैन ।’

सांसद गौतमले सरकार र सरकारको नेतृत्वको गरेको कांग्रेसले अघि नबढाउने भनेपछि एसपीपी सम्बन्धी समस्या समाधान भएको पनि पटक–पटक दोहोर्‍याउनुभयो । उहाँले त्याे प्रस्तावबारे संसदमा आएर जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा उठेका प्रश्नको जवाफ आफैँले नदिएर संसदीय मर्यादामाथि आघात पुर्‍याएकाे गाैतमकाे दाबी छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया