अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भीम रावल र परराष्ट्र मन्त्रीबीच ‘चर्काचर्की’

 असार ३, २०७९ शुक्रबार १६:५६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका सांसद डा. भीम रावलले एसपीपी स्वीकार्य हुँदैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारसँग आग्रह गर्नुभएको छ । 

आज शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै सांसद रावलले अमेरिकी दूतावासले नेपालले नचाहेमा स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने भन्दै अमेरिकालाई सरकारले तत्काल पत्र लेख्नुपर्ने बताउनुभएको हो । उहाँले कागजातको अध्ययन गरेर राष्ट्रिय हित विपरीत काम गर्नेहरूलाई कानुनी कठघरामा उभ्याउन सक्नुपर्ने पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले तुरुन्त अमेरिकालाई एसपीपी हामीलाई चाहिँदैन भनेर पत्र लेखेर पठाउनुपर्छ । त्यो सम्झौता कसको पालामा भएको हो खोजौँ र राष्ट्रिय हित विपरीत काम भएको छ भने जनताको कठघरामा उभ्याऔँ ।’

सांसद रावलले देशको परराष्ट्र मन्त्रीले देशव्यापीरूपमा भइरहेको बहसलाई नकोट्याऔँ भन्न नमिल्ने बताउनुभयो । उहाँले नेपालको परराष्ट्र नीति, नेपालको स्वाधीनता स्वतन्त्रता सरकार, व्यक्ति, मन्त्री विशेषसँग मात्र सरोकारको विषय नभएको जिकिर गर्दै बहसको पूर्ण जानकारी नहोउन्जेल सहमतिमा जान नसक्ने बताउनुभयो । 

सांसद रावलले नेपाली सेनाले दिनैपिच्छे फरक कुरा गर्न नमिल्ने बताउनुभयो । उहाँले नेपाली सेना देशको सुरक्षाको अन्तिम र सुरक्षा संयन्त्र भएको उल्लेख गर्दै यस्ता समस्यामा पर्ने हो भने राष्ट्रिय सुरक्षाको आधार नै भताभुङ्ग हुने बताउनुभयो । उहाँले प्रतिनिधि सभामा परराष्ट्र मन्त्रीले भ्रमपूर्ण जवाफ दिनुभएको पनि दाबी गर्नुभयो । उहाँले अमेरिकी उपविदेश सहायकमन्त्रीको भ्रमणको बेला तिब्बती शरणार्थी शिविरमा भेट गरेर परराष्ट्र मन्त्रीले नेपालको हितमा छ भन्नुले परराष्ट्र नीतिको रक्षा हुन नसक्ने बताउनुभयो । यसैबीचमा परराष्ट्र मन्त्री खड्का र सांसद रावलबीच चर्काचर्कीसमेत भएको थियो । 

सांसद रावलले सन् २०१९ मा इन्डो–प्यासेफिक रिपोर्टमा नेपाल जोडिएको कुरा उल्लेख गरिएको भन्दै यसलाई ख्यालख्यालमा नकोट्याइरहन नसकिने बताउनुभयो । उहाँले सरकारले सम्झौता, सन्धि गर्ने र जोडिएको रिपोर्ट आउने कुरा खेलाँची नभएको स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया