अर्थमन्त्री शर्मासँग विश्व बैंकका प्रबन्ध निर्देशकको शिष्टाचार भेट

 असार ५, २०७९ आइतबार १८:१८:२२ | रासस
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज आइतवार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गर्नुभयो ।

‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रही आएको छ’, भेटमा उहाँले भन्नुभयो । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिनुभएको थियो । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीयरूपमा बढ्दै गएको छ ।

सन् १९६९ मा १६ दशमलव ९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो । विश्व बैंकसँग अहिलेसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्त्वपूर्ण आयोजना सम्झौताको चरणमा रहेको र अहिले सञ्चालित आयोजना निकै महत्त्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताउनुभयो ।

‘विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजना समयमै सम्पन्न गरी त्यसको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ’, मन्त्री शर्माले भन्नुभयो । त्यस अवसरमा आर्थिक वर्ष २०७९/८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उहाँले जानकारी गराउनुभएको थियो । ‘मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान विन्दुका रूपमा उल्लेख गरेको छु’, उहाँले भन्नुभयो ।

त्यस अवसरमाा विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताउनुभयो । उहाँले नेपालको विकास साझेदारका रूपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आउँदा दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सहयोग पुर्‍याउने जानकारी गराउनुभएको थियो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया