‘माओवादी र प्रधानमन्त्रीले केही दिन पर्खिन भन्नुभएकाे थियाे, अब छिटै मन्त्री फेरिन्छन्’

 असार ५, २०७९ आइतबार १९:५२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी र प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा केही दिनका लागि मात्रै मन्त्री परिवर्तनको प्रक्रिया रोकिएको स्पष्ट पार्नुभएकाे छ । 

आज आइतवार समाजवादी प्रेस सङ्गठन नेपालले काठमाण्डौमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उहाँले आफ्नो पार्टीले मन्त्री परिवर्तन गर्न नाम पठाएपछि माओवादीमा पनि कुरा चलेकोले केही दिनका लागि प्रक्रिया रोकेको तर अब छिट्टै नै परिवर्तन हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘माओवादी र प्रधानमन्त्रीले केही दिन पर्खिन भनेका कारण मन्त्री परिवर्तनमा ढिलाइ भइरहेको छ । प्रधानमन्त्रीले अब छिटै मन्त्री परिवर्तन गर्ने जवाफ दिनुभएको छ ।’

अध्यक्ष नेपालले पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभएका प्रेम आलेले बोलेको शब्दहरूप्रति लक्षित गर्दै आउँदा दिनमा विचार पुर्‍याएरमात्रै बोल्न अनुरोध गर्नुभयो । 

अध्यक्ष नेपालले अहिले देश ठिकठाक नरहेको दाबी गर्नुभयो । उहाँले आउँदाे चुनावमा मतपत्र कस्तो बनाउनुपर्छ भन्नेबारेमा पनि छलफल हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । मतपत्रको बारेमा नागरिकलाई बुझाउन नसक्दा काठमाण्डाैलगायतका केही पालिकामा उपमेयरमा चुनाव हार्न पुगेको उहाँकाे जिकिर थियाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया