मध्य पहाडी लोकमार्गको ठाउँ-ठाउँमा पहिरो, सोलु-काठमाण्डौ यात्रा कष्टकर

 असार ६, २०७९ सोमबार ७:३१:३९ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - सिन्धुली-मध्यपहाडी लोकमार्गको ठाउँ-ठाउँमा पहिरो जाँदा सोलु-काठमाण्डौ सडक यात्रा कष्टकर बनेकाे छ । 

निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको सिन्धुलीको फिक्कल गाउँपालिका र रैबार क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा चुनौती थपिएको हो । 

पहिरोका कारण दिनहुँजसो सडक अवरुद्ध हुँदा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर लगायतका जिल्लाहरुबाट काठमाण्डौका लागि छुटेका गाडीहरु रोकिने गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पानी पर्ने बित्तिकै फिक्कल गाउँपालिका-६ मा रहेकाे सोखुखोलामा बाढी आउँदा गाडी सञ्चालन नै रोकिने गरेको गाडी चालकहरुले बताएका छन् । आइतवार बिहान परेको पानीका कारण खोलामा बाढी आउँदा करिब ४ घण्टा सडक ठप्प भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

याे खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र अवस्थामा रहेकाले खोलाबाट नै गाडी सञ्चालन गर्नु पर्ने बाध्यता छ । तर सम्बन्धित पक्षले चासो नदिँदा यात्रुहरुले सास्ती खेप्नु परेको स्थानीयले बताएका छन् । 

सिन्धुलीकै रैबार  क्षेत्रमा पर्ने सडकको ठाउँ-ठाउँमा माथिबाट पहिरो खस्दा पटक-पटक गाडी फस्ने तथा रोकिने गरेको स्थानीय मानबहादुर तामाङले बताउनु भयाे । सडक खण्ड अवरुद्ध हुँदा अपाङ्गता भएका, महिला, बालबालिका तथा वृद्धवृद्धा अवस्थाका यात्रुहरू बढी मारमा पर्ने गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया