सगरमाथा क्षेत्रका घरपालुवा जनावरमा हिमाली ब्वाँसोको आक्रमण बढ्याे

 असार ६, २०७९ सोमबार १३:३२:२८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आक्रमण बढ्दै गएको छ । केही वर्षयता यस क्षेत्रको घरपालुवा जनावरहरूमा  हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्याङ्कले पुष्टि गरेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेको तथ्याङ्क अनुसार सन् २०२० को मध्यदेखि २०२१ को मध्यसम्ममा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरबाट ३ सय २३ वटाभन्दा बढी घरपालुवा जनावर मारिएका छन् । जसका लागि निकुञ्जले ९० लाख रूपैयाँभन्दा बढी क्षतिपूर्ति पशुपालक कृषकलाई प्रदान गरेको छ ।

नेपालमा सबैभन्दा कम अध्ययन गरिएको जङ्गली जनावरमा पर्ने हिमाली ब्वाँसोले घरपालुवा जनावरको सुरक्षामा निकै ठूलो समस्या सिर्जना गरिरहेको स्थानीयले बताएका छन् । वार्षिक प्रतिवेदन अनुसार‚ मारिएका ३ सय २३ घरपालुवा जनावरमध्ये २ सय ३४ ब्वाँसाेले मारेको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायाले बताउनु भयाे । 

सन् २०१३ मा नेपाल सरकारले आठ प्रकारका वन्यजन्तु हात्ती, गैँडा, भालु, बाघ, चितुवा, हिमचितुवा, बँदेल र अर्नाका कारण घरपालुवा वस्तुभाउलाई क्षति वा घाइते गराएमा क्षतिपूर्ति दिने पहिलो निर्देशिका लागू गरेको थियो ।

सन् २०१५ मा सरकारले त्यो सूचीमा हिमाली ब्वाँसो, ध्वाँसे चितुवा र जङ्गली कुकुर थप गरेको थियो । अहिले निकुञ्जले घरपालुवा जनावर ब्वाँसोले मारेबापत ३० हजार रूपैयाँ क्षतिपूर्ति दिने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

तस्बिर : लाक्पा नोर्बु शेर्पा

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया