तत्कालीन कार्यालय प्रमुखसहित १२ कर्मचारी र ५ बिचाैलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

५३३ जना व्यक्तिलाई गैरकानुनी रूपमा लाइसेन्स दिएकाे आराेप

 असार ७, २०७९ मंगलबार १६:४१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यातायात व्यवस्था कार्यालय ललितपुरका तत्कालीन प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाई कुस्मासहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई जना प्रमुखसहित १२ जना कर्मचारी र पाँच जना बिचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । 

तत्कालीन कार्यालय प्रमुखहरू कार्की र कुस्माले कर्मचारी र बिचौलियासँग मिलेर भ्रष्टचार गरेको खुलेको अख्तियारले जनाएको छ । उनीहरूले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साउन र भदौमा गरी पाँच सय ३३ जना व्यक्तिलाई अवैध रूपमा चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराएको अख्तियारको आरोप छ । उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका चालक अनुमति पत्रको विवरणलाई सच्याएर गैरकानुनी रूपमा नवीकरणको बाटोबाट नयाँ व्यक्तिको नाममा चालक अनुमतिपत्र जारी गरेको पाइएको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । 

अख्तियारले दुई कार्यालय प्रमुखसहित कर्मचारीहरू विजयराज गिरी, कमल स्याङ्तान, अच्युतप्रसाद फुँयाल, प्रकाश कार्की, रेजु भट्टराई, रोशन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी र रिचा श्रेष्ठ तथा बिचौलियाहरू हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भनिने उद्धवबहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया