नेपालमा ८० प्रतिशत दुर्व्यसनकाे मुख्य कारण गाँजा

 असार १२, २०७९ आइतबार ७:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ ।

यसवर्ष ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागुपदार्थको चुनौतीतर्फ सम्बोधन’ भन्ने नाराका साथ मनाउन लागिएको छ । नेपालमा गाँजा र भाङ, अफिमलगायतको मिश्रण पदार्थलाई लागुऔषध मानिन्छ । गृह मन्त्रालयका अनुसार नेपालमा ८० प्रतिशत दुर्व्यसनको मुख्य कारण गाँजा रहेको छ ।

सुरुमा चुरोट गाँजाबाट कुलतमा बस्ने र पछि कडा प्रकारका लागुऔषध प्रयोग गर्ने पाइएको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्रप्रसाईँ बताउनुहुन्छ । दुर्व्यसन बढ्दै गएपछि गृह मन्त्रालयले रोकथाम तथा नियन्त्रण गुरुयोजना बनाएर लागू गरेको छ ।

साथीसङ्गतले स्कुल, कलेज तथा होस्टेलमा बस्ने विद्यार्थी अझ धेरै दुर्व्यसनमा फस्ने गरेको पाइएको गृह मन्त्रालय लागुऔषध नियन्त्रण महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसाल बताउनुहुन्छ । उहाँका अनुसार आमाबुबा अभिभावक, विद्यालय सञ्चालक र होस्टेल सञ्चालकले ध्यान दिन सकेमा किशोर किशोरीलाई यस्ता दुर्व्यसनबाट जोगाउन सकिन्छ । अहिले नेपालमा १ लाख ४० हजारभन्दा धेरै दुर्व्यसनी रहेको अनुमान छ ।

नेपालभित्रै दुर्व्यसनको जोखिम बढेको छ भने नेपाललाई ट्रान्जिट बनाएर अन्तर्राष्ट्रिय गिरोहले कारोबार गर्ने क्रम पनि बढेको छ । लागुऔषधकै कारण चोरी, हत्या, बलात्कार जस्ता अपराधका घटना पनि हुने गरेका छन् ।

लागुऔषधको दुर्व्यसनबाट नयाँ पुस्तालाई जोगाउन सचेतना र पालिकामा आवश्यक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा गृहमन्त्रालयका सहसचिव डा. भुसालको जोड छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया