सिद्धबाबा र नागढुङ्गा सुरुङमार्गमा कहिलेदेखि चल्छन् गाडी ?

 माघ १६, २०८१ बुधबार ११:४:१० | विकाश चापागाईँ
unn.prixa.net

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा बनिरहेको सुरुङमार्ग अघिल्लो हप्ता शुक्रवार छिचोलिएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको दुई लेनको मुख्य सुरुङमार्गको लम्बाई एक किलोमिटरभन्दा केही बढी (एक हजार एकसय २६ मिटर) र चौडाई साढे १० मिटर रहेको छ ।

सुरुङमार्गमा कुनै समस्या आइपरे आपतकालीन निकासका लागि तीन वटा बाइपास सुरुङ राखिएको छ । तीनवटै बाइपास सुरुङ यसअघि नै छिचोलिएका छन् ।

मुख्य सुरुङ छिचोल्ने काम सकिए पनि अरु धेरै काम बाँकी छ । यो ठेक्काको म्याद २०८३ सालको चैत ८ गतेसम्म रहेको आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो । ‘अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति झन्डै ४० दशमलव ०८ प्रतिशत रहेको छ,’ उहाँले भन्नुभयो, ‘कुनै समस्या आएन भने अर्को वर्षसम्म गाडी चलाउन सकिन्छ ।’

उहाँका अनुसार एक सय ५० जनाभन्दा धेरै श्रमिक र प्राविधिकले रातदिन काम गरिरहेका छन् । अब सुरुङमा विद्युत, सडक कालोपत्र, सञ्चार, भेन्टिलेसन, नाली निर्माण, बत्ती जडान लगायतका काम बाँकी छ । बुटवलको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान क्षेत्रसम्म सुरुङमार्ग बनिरहेको हो ।

आयोजनाका प्रमुख अधिकारीले भन्नुभयो, ‘सडकको भौगोलिक अवस्था र पहिरोको जोखिमका कारण सडकबाट यात्रा गर्दा बढी समय लाग्ने गरेको छ, सुरुङमार्गबाट यात्रा गर्दा डर हुँदैन र समय पनि बढी लाग्दैन ।’ सुरुङमार्गबाट सबै खाले गाडी चलाउन मिल्ने उहाँको भनाइ छ ।

सिद्धबाबा सुरुङमार्गले पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा,बाग्लुङलगायतका ठाउँमा ओहोरदोहोर गर्ने यात्रुलाई सहज बनाउनेछ । सिद्धार्थ राजमार्ग भएर दैनिक साना–ठूला एक हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् ।

नौ महिनाअघि नै छिचोलिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा अहिले के हुँदैछ ?

नौ महिनाअघि वैशाख ३ गते छिचोलिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङमा अहिले गाडी गुड्न मिल्ने गरी पूर्वाधार बनाउने काम भइरहेको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाका उपप्रमुख सञ्जय पन्थीका अनुसार सुरुङभित्र सडक ढलान, बत्ती जडान, भेन्टिलेसन लगायतका काम भइरहेको छ ।

‘अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति झन्डै ८५ प्रतिशतभन्दा बढी छ,’ उहाँले भन्नुभयो, ‘कुनै समस्या आएन भने अर्को वर्षको माघसम्म गाडी चलाउन सकिन्छ ।’ नागढुङ्गा सुरुङमार्गबाट दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र पेट्रोलियम पदार्थ बोकेका बाहेक अरू सबै गाडी चल्न पाउनेछन् ।

सुरुङमा तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीन वटा पुल र एउटा फ्लाईओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाईओभरको ढलानको काम सकिएको र अहिले फ्लाईओभरबाट बाटोमा जोड्ने सडक अर्थात् ‘स्लोप’ को काम भइरहेको आयोजनाका उपप्रमुख पन्थीले जानकारी दिनुभयो ।

काठमाण्डौको चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ साढे दुई किलोमिटरभन्दा धेरै (दुई हजार छ सय ६७ मिटर) रहेको छ ।

आयोजना निर्माणको शुरूवाती सम्झौताअनुसार काम शुरू भएको ४२ महिनाभित्र अर्थात् गएको वर्ष वैशाखमै सकिनुपर्थ्यो । विभिन्न समस्याका कारण तोकिएको समयमा काम नसकिएपछि पछिल्लो समय सरकारले आउँदो वर्षको माघ ८ गतेसम्म ठेक्काको सयम थपेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको छ अर्ब रुपैयाँ लगानी छ ।

अन्त कहाँ–कहाँ बन्दैछ सुरुङमार्ग ?

सिद्धबाबा र नागढुङ्गाबाहेक देशभर १८ वटा सुरुङमार्ग बनाउन सम्भाव्यता अध्ययन र डीपीआरको काम भइरहेको छ । सडक विभाग  अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार कतिपय सुरुङमार्ग अध्ययनकै सिलसिलामा छन् भने कतिपय सुरुङमार्गको डीपीआरको काम भइरहेको छ । नवलपरासीको दुम्कीबास–बर्दघाटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिएको उहाँले जानकारी दिनुभयो ।

कास्कीको हेम्जा नयाँपुल सडक खण्ड सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र कास्कीकै फुस्रेखोला छोरेपाटनदेखि स्याङजा गुडीकोला सुरुङमार्गको सम्भाव्यता अध्ययन चलिरहेको छ ।

कार्यालयका अनुसार मकवानपुरको कुलेखानी–भीमफेदी सुरुङमार्ग, सिन्धुलीको खुर्कोट–सिन्धुली सुरुङमार्ग, दोलखाको लामाबगर सडक सुरुङमार्ग, सुनसरीको धरान–धनकुटाको लेउती सुरुङमार्ग, कैलालीको दिपायल–खुटिया–डोटीको बीपी नगर सुरुङमार्ग, ललितपुरको गोदवरीकुण्ड–काभ्रेको मनेदोभान सुरुङमार्ग, बाग्लुङको ब्यु–नरेठाँटी सुरुङमार्ग, पाल्पाको प्रवास–जोर्ते सुरुङमार्ग, रारा राजमार्गअन्र्तगत जाजरकोटको ब्याउलीढुङ्गा–जुम्लाको ईकिमी लचा खोला सुरुङमार्ग, भक्तपुरको ताथली–काभ्रेको रविओपी सुरुङमार्ग, सुर्खेतको बबई–छिन्चु सुरुङमार्ग, इलामको सुनमाई–राजदुबोल सुरुङमार्ग र चितवनको मझिमटार–शक्तिखोर सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम सकिएको छ । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकाश चापागाईँ

विकाश चापागाईँ ​उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया