जथाभाबी मूल्य वृद्धि गर्नेलाई ठाउँको ठाउँ कारबाही हुने, ११३७ मा उजुरी गर्न उपभोक्तालाई आग्रह

 असार १२, २०७९ आइतबार ९:२५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा जथाभाबी मूल्य वृद्धि गर्नेलाई कारबाही हुने भएको छ ।

रुस–युक्रेन युद्धलाई देखाएर जथाभाबी भाउ बढाएका व्यापारीले पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा आफूखुशी मूल्य बढाएका छन् । तर, हरेक दिन बजार अनुगमन भइरहे पनि पेट्रोलियम पदार्थको भाउ बढेकाले कारबाही हुन सकेको थिएन । अब भने सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएकाले बजार अनुगमनमा कडाइ गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका निर्देशक हरि पङ्गेनीले जथाभाबी भइरहेको मूल्यवृद्धिलाई नियन्त्रणमा लिन आजैदेखि अनुगमन टोलीको सङ्ख्या बढाएर बजार अनुगमन हुने जानकारी दिनुभयो ।  त्यसका लागि जनशक्ति पनि थपिएको छ । अहिले हेरक दिन विभागका तीन–चार टोली बजार अनुगमनमा खटिएका छन् । अब यसमा थप दुई–तीन टोली थपेर अनुगमनलाई बढाउने उहाँले बताउनुभयो । हिजो पेट्रोलमा २० रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर २९ रुपैयाँले भाउ घटाउँदै सरकारले बजारमा भइरहेको मूल्यवृद्धिलाई नियन्त्रणमा लिन पनि निर्देशन दिएको थियो ।

निर्देशन अनुसार आजैदेखि कर्मचारी खटाइ अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रणमा लिन अनुगमन गर्ने निर्देशक हरि पङ्गेनीले दाबी गर्नुभयो । उहाँले आफू ठगिएको जस्तो लागे विभागको ११३७ नम्बरमा तुरुन्तै फोन गर्न आग्रह गर्नु भएको छ ।

उजुरी परेपछि तत्काल अनुगमन हुने र दोषी पाइए ‘अन द स्पट’ अर्थात ठाउँको ठाउँ कारबाही गर्ने उहाँले बताउनुभयो । बजारमा कतिपय व्यापारीले पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा मूल्य वृद्धि गरिरहेका अनुगमनका क्रममा पनि पाइएको छ । अब यस्ता व्यापारीलाई लक्षित गरी अनुगमन गरी कारबाही गरिने विभागले जनाएको छ ।  तर, इन्धनको भाउ घटे पनि दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धि नियन्त्रणमा आउनेमा आशङ्का छ ।

उपभोक्तालाई राहत मिल्ने गरी बजार अनुगमन नहुनु तथा जथाभाबी मूल्यवृद्धि गर्नेलाई कारबाही नहुनु जस्ता कारणले महँगी नियन्त्रणमा आउनेमा आशङ्का गरिएको हो ।  केही समययता बजारमा दैनिक उपभोग्य वस्तुसहित सबै सामानको भाउ बढेको बढ्यै छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया