केही मन्त्रीले राजीनामा पत्र बुझाइसके, पत्र गाेजीमा बाेकेर हिँडेकाे छु : अध्यक्ष नेपाल

 असार १२, २०७९ आइतबार १३:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ । 

आज आइतवार अखिल नेपाल महिला सङ्घ (समाजवादी) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरूले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको हो । मन्त्रिपरिषद् पुनर्गठनका लागि पार्टीले पठाएको पत्र पर्याप्त रहेको भन्दै त्यसकै आधारमा सरकारले तुरुन्त मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘मानिसहरूमा मन्त्रीकाे कुर्सीमा बसिसकेपछि हट्नै नचाहने प्रवृत्ति छ । इमानदार कार्यकर्ताले पार्टीको निर्णय थाहा पाउने बित्तिकै सम्मान गर्न, पालन गर्न तयार हुनुपर्छ । मलाई खुसी लागेको छ, केही मन्त्रीहरूले राजीनामा पत्र मलाई दिनुभएको छ । त्यो पत्र गोजीमा लिएर हिँडिरहेको छु । कुनै बेला प्रेसमा पठाएर त्यसलाई सार्वजनिक पनि गर्नेछु ।’

अध्यक्ष नेपालले गठबन्धन सरकारलाई निरन्तरता दिइने पनि बताउनुभयो । गठबन्धन सरकार कायम रहने उल्लेख गर्दै गलत कुराका विरुद्धमा भने सङ्घर्ष गर्ने उहाँकाे भनाइ छ । उहाँले आउँदाे चुनावमा गठबन्धन नभए पनि सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने गरी तयार रहन नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । 

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक मत जम्मा गर्नका लागि सबै निर्वाचन क्षेत्रमा 'डमी' उम्मेदवारको रूपमा भए पनि उम्मेदवार खडा गर्नुपर्ने उहाँले बताउनुभयाे । उहाँले सङ्गठन निर्माण र प्रचार–प्रसारको काममा सक्रियतापूर्वक लाग्न नेता, कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया