रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँदैन : नेता पाैडेल

 असार १३, २०७९ सोमबार १९:५२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा (एकीकृत समाजवादी) तर्फ इङ्गित गर्दै रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने टिप्पणी गर्नुभएको छ ।

आज सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेताहरूले समाजवादको कुरा गरे पनि व्यवहार भने त्यसअनुसार नभएको बताउनुभयो । 

वरिष्ठ नेता पौडेलले मन्त्री बन्न सबैको पालो पुर्‍याउनुपर्ने चरित्र समाजवादी चरित्र नभएको टिप्पणीसमेत गर्नुभयो । उहाँँले भन्नुभयो, ‘ एउटा पार्टीमा सरकारका मन्त्री भएका छन् । चार दिन काम गर्न पाएका छैनन्, उसलाई हटाउनुपर्ने, फेरि–फेरि पालैपालो पुर्‍याउनुपर्ने पनि पार्टी सिस्टम हो ? समाजवादको कुरा गर्दा के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ? कसरी आउँछ ? हाम्रो चरित्र, आचरण र व्यवहारमा समाजवाद आउँछ कि आउँदैन त्यो महत्त्वपूर्ण कुरा छ ।’

नेता पौडेलले समाजवादको नारामा प्रतिक्रियावादी प्रवृत्ति देखाउने गरिएको भन्दै अब राजनीतिक दलका नेता, कार्यकर्ता बदलिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया