लगातारको वर्षाले विभिन्न ठाउँमा बाढी, पहिरो : झापा र मोरङमा सयौँ घर डुबे

 असार १४, २०७९ मंगलबार १७:५५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका घटना भएका छन् ।

बाढीले बगाएर मोरङको सुन्दरहरैँचा नगरपालिका ६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको ज्यान गएको प्रहरीले जनाएको छ । सुन्दरहरैँचा–३ आइतबारेमा गछिया खोलाले बगाउँदै गरेको अवस्थामा बिहान विकको शव भेटिएको हो ।

यस्तै लगातारको वर्षाका कारण आएको बाढीले मोरङको विराटनर र कटहरीमा एक सय ७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा एक सय ७५ परिवार विस्थापित भएका हुन् । उनीहरू अहिले आफन्तकोमा तथा सुरक्षित ठाउँमा गएर बसेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अहिले पनि पानी परिरहेकाले खोला किनारका बस्तीमा रहेकाहरूलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यस्तै झापामा दुई सयभन्दा धेरै घर डुबानमा परेका छन् । मेची, रतुवा, मावा, कमल, कन्काई लगायतका नदीमा पानीको सतह बढेसँगै यहाँका बस्ती र घर डुबानमा परेका हुन् । गौरादह–६ तेलिया डाँगीमा रतुवा खोला पसेर बाढी आएको प्रहरीले जनाएको छ । यो ठाउँमा ४ र ५ नम्बर वडाका ५० घर डुबानमा परेका छन् ।

त्यस्तै भद्रपुर नगरपालिकामा २५ घरमा बाढी पसेको छ । शिवसताक्षी नगरपालिकाका ३ र ४ नम्बर वडामा कमल खोला पसेर ४० घर डुबानमा परेका छन् भने झापा गाउँपालिका १ मिलनबस्तीका ९० घर डुबानमा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच पहिरोका कारण बन्द भएको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्ड सञ्चालनमा आएको छ । वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक बन्द भएको थियो । पहिरो हटाएर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ । सडक खुलेपछि अहिले यस राजमार्ग भएर गुड्ने गाडी आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

तस्बिर : जिप्रका झापा

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया