रुकुम पश्चिम : सौर्य बत्तीले झिलिमिली चौरजहारी

 असार १५, २०७९ बुधबार १२:४८:२५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका विभिन्न वडामा सौर्य बत्ती जडान गरिएको छ । नगरका आठ वटा वडाका ३ सय २५ ठाउँमा सौर्य बत्ती जडान गरिएकाे हाे । 

चौरजहारी नयाँ सहर आयोजनाले नयाँ सहर क्षेत्रका सडक, सार्वजनिक स्थल र बसपार्क क्षेत्रमा सौर्य बत्ती जडान गरेको छ । चौरजहारी नयाँ सहर क्षेत्रमा ३ सय २५ ओटा सौर्य बत्ती जडान गरिएको नयाँ सहर आयोजना चौरजहारीका प्रमुख धिर फडेराले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७८/०७९ को स्वीकृत कार्यक्रम अनुसार छनाेट भएका आठ वटा वडामा सौर्य बत्ती जडान सम्पन्न गरिएको हो । 

चौरजहारी नगरपालिकाको वडा नम्बर १ को १ सय ३४ ठाउँमा, २ को ५२ ठाउँमा, ३ को १ सय १ ठाउँमा, ४ को दुई ठाउँमा सौर्य बत्ती जडान गरिएको छ । त्यसैगरी वडा नम्बर ६ मा सात वटा, ७ मा १४ वटा र ११ मा पाँच वटा सौर्य बत्ती जडान गरिएको छ । आयोजना कार्यालयका अनुसार जि.टेक. कन्ट्रक्सन एन्ड इन्जिनियरिङले तोकिएकै समयमा काम सम्पन्न गरेको हो ।

भ्याट रकमसहित ३ करोड ४० लाख ४९ हजार ९ सय ५१ रुपैयाँ सौर्य बत्ती जडानको काम सम्पन्न भएको बताइएको छ । गएकाे माघ महिनामा सम्झौता गरेर निर्माण कम्पनीले काम सुरु गरेको थियो। 

आठ वडा वडाका मुख्य क्षेत्रहरुमा सोलार बत्ती जडान हुँदा गाउँमा झिलिमिलि भएपछि स्थानीयवासी खुशी भएका छन् । चौजहारी नगरपालिका-१ का रिमप्रसाद शर्माले सोलार बत्तीले सबैतिर झिलिमिली भएकाे बताउनुभयो । विशेष गरेर सडक क्षेत्रमा उज्यालो भइरहँदा रातिको समयमा बाटोमा हिँड्न सजिलाे भएकाे उहाँले बताउनुभयो । 

रातिको समयमा बसपार्कमा झर्ने यात्रुहरुले समेत सौर्य बत्तीको कारण सामान ओसारपसार गर्न सहज भएको बताउँछन् । चौरजहारी ११ का शेरजङ्ग चन्दले बसपार्कमा रातिको समयमा पुगेपछि झिलिमिली हुने भएकोले बासस्थान खोज्न, रिक्सा खोज्न समस्या नहुने बताउनु भयाे । 

उहाँले उपयोगी रहेको सौर्य बत्ती जडान कार्यको सुरक्षा र नियमितताको विषयमा बेलैमा सोच्न जरुरी रहेको बताउनुभयो । सरकारले घोषणा गरेको दश नयाँ सहर अन्तर्गत चौरजहारी पनि एउटा सहर हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया