धान, चामल पनि बाहिरबाट आयात गर्नु दुःखद, अव्यवस्थित 'प्लटिङ' राेक्नुपर्छ : केपी ओली

 असार १५, २०७९ बुधबार १८:३४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक ढङ्गले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताउनुभएको छ । 

आज बुधवार अखिल नेपाल किसान राष्ट्रिय महासङ्घले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल धानबालीका लागि उपयुक्त ठाउँ रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल कृषिप्रधान देश भए पनि खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई विस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पादन बढाउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘धानबाली नेपालका लागि अत्यन्त उपयुक्त छ । यसलाई अझै केही गुणा वृद्धि गर्न सक्नुपर्छ । यसका निम्ति उत्पादन र उत्पादकत्व बढाउन जरुरी छ । यसका निम्ति सहकारी र अरू माध्यमबाट खण्डीकरण होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनै पनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्छ । त्यसो गरे हामी आत्मनिर्भर पनि हुन्छौँ, निर्यात पनि गर्न सकिन्छ । अहिले बस्ती कहाँ बसाउने, खेती कहाँ गर्ने ? भन्ने कुरामा ध्यान पुगेको छैन । प्लटिङ सिस्टमले धान खेती वा अन्नबाली लगाउने ठाउँ, कहाँ घडेरी बनाउने, कहाँ बस्ती बसाउने, कहाँ सहर बनाउने भन्ने कुरामा गोलमाल भइरहेको छ । हामी बेठिक ढङ्गले चलिरहेका छौँ । यसलाई रोक्न जरुरी छ ।’

अध्यक्ष ओलीले कृषिप्रधान देशले खाद्यान्न बढी मात्रामा आयात गर्नु अशोभनीय भएको बताउनुभयो । उहाँले धान, मकै, गहुँजस्ता खाद्यवस्तु पनि बाहिरबाट आयात गर्नु दुःखद भएको बताउनुभयो । उहाँले लापर्बाही र असावधानीका कारण यी गल्तीहरू भइरहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘आज धान, चामल नै असाधारण ढङ्गले बाहिरबाट आयात गर्नुपरेको छ । हामी कृषिप्रधान देश र अन्नबालीमध्ये धान धेरै फल्ने गर्छ । यस्तो देशमा हामी अशोभनीय ढङ्गले आयात गरेर जीविका चलाइरहेका छन् । यो कुरा त सुन्न पनि सुखद छैन । यो स्थितिको हामी अन्त्य गर्न सक्छौँ । यो स्थिति वास्तवमा हाम्रो लापर्बाही, असावधानी र प्रयासहरूको कमीका कारण भएको हो ।’

अध्यक्ष ओलीले असावधानी र लापर्बाहीलाई सच्याएर खाली जमिन राख्न नदिने हो भने कृषिलाई आधुनिकीकरणतर्फ बढाएर व्यवसायीकीकरण गर्दै उत्पादकत्व वृद्धि गर्न सकिने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया