भारतले धौलीगङ्गाको बाँध खोलेपछि महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह

 असार १६, २०७९ बिहिबार ७:३६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको ड्याम साइटका ढोका खोलेकाले महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भन्दै आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बिहान ५ बजेदेखि भारतले सिल्ट फ्लशिङ्ग गर्न भन्दै बाँधका ढोका खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

अहिले खोलिएका बाँधका ढोका बेलुका ८ बजेसम्म खुला हुने पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको सूचनामा उल्लेख छ ।

भारतको पिथौरागढमा रहेको धौलीगङ्गा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी  जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो । त्यही पत्र अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेको हो ।

यस्तै, महाकाली जलाधारका केही ठाउँमा वर्षासमेत भएकाले नदीमा एक्कासी बहाव बढ्न सक्ने भएकाले सतर्क रहन प्रशासनको आग्रह छ।
 

तस्बिर : विकीपीडिया

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया