काठमाण्डाै उपत्यकामा हैजाको प्रकोप बढ्दो, अहिलेसम्म १४ जनामा सङ्क्रमण पुष्टि

 असार १६, २०७९ बिहीबार ८:३७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । हिजो थप दुई जनामा हैजा पुष्टि भएको छ ।

काठमाण्डौमा यो महिनाको सुरुवातमा बागबजारका दुई दिदीबहिनीमा पहिलो पटक हैजा पुष्टि भएको थियो । अहिलेसम्म काठमाण्डौ उपत्यकामा १४ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले जानकारी दिनुभयो। उहाँका अनुसार हैजा पुष्टि हुनेमा चार जना महिला र १० जना पुरुष रहेका छन्।

काठमाण्डौ उपत्यकामा हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको पाइएको छ । धाराको पानी, बोतल/जारको पानी र जमिनमुनिको पानीको चार वटा नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो । त्यस्तै ललितपुरबाट लिएको १८ वटा पानीको नमुनामध्ये १२ वटा नमुनामा इकोलिन फेला परेको छ ।

छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम मानिन्छ । भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो । यो दूषित पानी वा खाद्यवस्तुबाट सर्ने गर्छ । सङ्क्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ ।

निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । हैजा लागेपछि तौल घट्दै गएमा, पेट दुखेमा, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने र जलवियोजन हुने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासको आग्रह छ ।

हैजाबाट बच्न पानी उमालेर खान, सकेसम्म घर बाहिरका खाना र बासी खानेकुरा नखान पनि डाक्टरको सुझाव छ । सङ्क्रमण फैलने जोखिम रहेकाले सचेत रहन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मिश्राको आग्रह छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया