आयल निगम पनि व्यापारीकाे हातमा दिइँदैछ भन्ने सुनिएकाे छ : नेता पाैडेल

 असार १६, २०७९ बिहिबार १४:४३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बाैँ रुपैयाँकाे आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ ।

६४ औँ संसद् दिवसको अवसरमा आज बिहीवार काठमाण्डाैमा भएकाे कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारमाथि याे आरोप लगाउनुभएको हो । उहाँले निगम व्यापारीको हातमा दिएर अर्बाैँ रुपैयाँ कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरू लागेको भन्दै आपत्ति जनाउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चारमाध्यमहरूले अघि ल्याउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नु भयो, ‘आयल निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भइराखेकाे छ भन्ने सुनिएकाे छु । त्याे चलखेलको पछाडि करोड होइन अर्बाैँ रुपैयाँ छ । अर्बाैँ कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भइहाल्यो नि ।’

वरिष्ठ नेता पौडेलले किसानलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरूले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको गुनासाे गर्नुभयाे । 

वरिष्ठ नेता पौडेलले व्यवस्था परिवर्तनको खेलमा लाग्ने काम नगर्न पनि राजनीतिक दलहरूलाई सचेत गराउनुभयो । ७० वर्ष सङ्घर्ष गरेर टुङ्गो लगाएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरूले खोज्न नमिल्ने उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया