प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी

 असार १७, २०७९ शुक्रबार ७:५८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी गरेको छ ।

संविधान अनुसार प्रतिनिधि र प्रदेश सभा सदस्यको कार्यकाल पाँच वर्षको हुन्छ । जसअनुसार आउँदो मंसिर २२ गते अगाडि नै प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनाव हुनुपर्नेछ । त्यसका लागि निर्वाचन आयोगले छिट्टै सरकारलाई मितिबारे सिफारिस गर्ने र थप परामर्श गरी सरकारले यही महिनाभित्र मिति घोषणा गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

परामर्श तथा सिफारिसलगत्तै असार मसान्तभित्र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनावको मिति घोषणा हुने उहाँको भनाइ छ । आयोगले कात्तिक ३० गतेका लागि चुनावको मिति सिफारिस गर्ने सम्भावना छ ।

सरकारले पनि कात्तिक मसान्तभित्र चुनाव गर्नेगरी आन्तरिक तयारी गरिरहेको छ । प्रमुख आयुक्त थपलियाका अनुसार आउने चुनाव पनि सकेसम्म एकै चरणमा गर्ने तयारी छ । तर त्यसका लागि सरकारले पर्याप्त मात्रामा सुरक्षा व्यवस्था र स्रोत साधनको व्यवस्थापन गर्नुपर्ने हुन्छ । आउने चुनावका लागि मतपत्र छरितो बनाउने प्रयास गर्ने आयोगले जनाएको छ ।

आयोगले जिम्मेवारीपूर्ण ढङ्गले पालिका चुनाव सफल बनाएको र आन्तरिक रुपमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको तयारीमा जुटिसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ ।

सरकार विद्युतीय भोटिङ मेसिन खरिद गर्न तयार भएमा त्यसैअनुसार मतदान सम्पन्न गर्न पनि आयोग तयार रहेको उहाँले बताउनुभयो । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनावमा उम्मेदवारलाई प्रचार प्रसारका लागि कम्तीमा एक महिनाको समय प्रदान गर्ने तयारी आयोगले गरेको छ ।

प्रचारको समय अपुग भएको भन्दै उम्मेदवारबाट गुनासो आएको छ । अबको चुनावमा बजेटको सिलिङ बढाएर भए पनि मतदाता शिक्षामा जोड दिन आयोगलाई सुझाव प्राप्त भएको प्रमुख आयुक्त थपलियाले बताउनुभएको छ ।

पालिका चुनावमा मतदाता शिक्षाको अभावकै कारण बदर मत प्रतिशत बढेको, सम्बन्धित पक्षबीच आवश्यक समन्वय र सहकार्य हुन नसकेको आयोगले गरेको चुनावी समीक्षा गोष्ठीमा सहभागीले बताएका छन् । आयोगले असार ५ गतेदेखि विभिन्न प्रदेशमा र असार १५ र १६ गते काठमाण्डौमा चुनावी समीक्षा कार्यशाला गरेको थियो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया