एक महिनामा १ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात

 असार १७, २०७९ शुक्रबार १२:५०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गएकाे १८ जेठदेखि आईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युत् गृहकाे ३९ मेगावाट विद्युत् दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिक रुपमा ३ सय ६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३ सय ६४ मेगावाट विद्युत् आईएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।

एक महिना (जुन) मा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरिएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरु कटाएर खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ । जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युतकाे औसतप्रति युनिट दर ९ रुपैयाँ ६७ पैसा छ ।

आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतकाे कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

प्राधिकरणले यस अवधिमा विद्युत् बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार) मा पाएको छ । त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो । सबैभन्दा कम औसत दर २१ जुन (७ असार) मा थियो । त्यसदिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा थियो ।

यस अवधिमा ३ जुन (२० जेठ) मा  सबैभन्दा कम ५६ लाख ६७ हजार रुपैयाँको विद्युत् बिक्री गरिएको छ । त्यसदिन ९ लाख ४ हजार ८ सय युनिट विद्युत् बिक्री गरिएको थियो । सबैभन्दा बढी १४ जुन (३१ जेठ) ७ करोड २८ लाख रुपैयाँको विद्युत् बिक्री भएको छ । त्यसदिन ७८ लाख १३ हजार ३ सय युनिट विद्युत् बिक्री गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गएकाे वर्षबाट सुरु गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको बताउनुभयो।

‘जुन महिनामा निर्यात गरिएको विद्युतकाे परिमाण र त्यसबाट प्राप्त भएको बिक्री मूल्यलाई हेर्दा भारतसँगको विद्युत् व्यापार प्रभावकारी रुपमा अगाडि बढेको छ, विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको अहिलेको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएका छौं’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘यसबाट नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न र देशको सोधानान्तर बचतमासमेत योगदान पुग्ने छ ।’

उहाँले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आउँदाे वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत् निर्यातको प्रक्षेपण गरिएको बताउनुभयो । भारतसँगको विद्युत् व्यापारले नेपालको जलविद्युतकाे विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो । पहिलो प्राथमिकता देशभित्रै विद्युत् खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनु पर्ने देखिएको घिसिङले बताउनुभयो ।

‘मुख्य रुपमा औद्योगिक ग्राहकबाट भोल्टेजको कारणले छिनछिनमा लाइन ट्रिपिङ हुँदा भरपर्दो र गुणस्तरीय विद्युत् नपाएको गुनासो आउने गरेको छ, प्रायः वर्षायाममा हुने यस्ता समस्या समाधान गर्न देशभरि नै प्रसारण तथा वितरण प्रणाली संरचनाको सुधार, विस्तार र स्तरोन्नति अभियानकै रुपमा चलाइएको छ, यसको नतिजा नतिजा अब बिस्तारै देखिने छ ।’

गएकाे चैतमा प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र  (India-Nepal Joint Vision Statement on Power Sector Cooperation) जारी भएको थियो । त्यसलगत्तै विद्युत् प्राधिकरणले थप ४ जलविद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।

कार्यकारी निर्देशक घिसिङले दुई देशबीचको विद्युत् व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायलाई धन्यवाद दिनुभयो । भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत् बिक्री गरिन्छ ।

प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि दिउँसाे १२ बजेसम्म एक्सचेञ्ज बजारमा बिक्री गरिने विद्युतकाे परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतकाे प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत् निर्यात गरिन्छ ।

प्राधिकरणकोतर्फबाट एक्सचेञ्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले गर्छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन बेलुका ६ बजे प्राधिकरणलाई पठाउँछ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया